प्यूठान । नेकपा एमाले तोरबाङ्ग वडा कमिटीको दोस्रो अधिवेशनबाट धनबहादुर पुनलाई पुनः सर्वसम्मत निर्वाचित गरेको छ । मंगलबार झिमरुक-६ नेटामा भएको वडा कमिटी दोस्रो अधिबेशनको बन्दसत्रबाट धनबहादुर पुनको अध्यक्षतामा पदाधिकारीसहित २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
उपाध्यक्षमा हरिहर पोख्रेल, सचिवमा सुशील जिसी, उपसचिवमा खुल्लातर्फ भुपाल सुनार र महिलातर्फ शान्ता केसी निर्विरोध निर्वाचित हुनुभएको छ। निर्वाचित कमिटीलाई प्रमुख अथितिले अबिर टीका लगाउदै बधाई दिनुभएको थियो ।
आज दिनभर चलेको अधिवेशनले सर्वसम्मत नेतृत्व चयनलाई जोड दिएको नेकपा एमाले जिल्ला सचिब इन्द्रमणी पोख्रेलले जानकारी दिनुभयो । अधिबेशनको बन्दसत्रबाट २१ सदस्यीय कमिटीलाई निर्विरोध चयन गरिएको उहाँले जानकारी दिनुभयो । अन्य सदस्यलाई आवश्यकता अनुसार पार्टीको वडा कमिटीको बैठकबाट मनोनित गरिने बताइएको छ ।
नेकपा एमाले झिमरूक गाउँपालिका-६ को नेकपा एमाले वडा कमिटीको दोस्रो अधिबेशन धन बहादुर पुनको अध्यक्षता तथा प्रमुख अथिती नेकपा (एमाले) प्युठानका सचिव ईन्द्रमणि पोख्रेल रहनुभएको थियो । त्यस्तै कार्यक्रममा जिल्ला सदस्य हेमु गिरी, गोबिन्द गिरी, लेखा समिति सदस्य झक बहादुर पुन, झिमरूक-६ का वडा सदस्य मित्रु गिरी, पुर्ब जिल्ला सदस्य भुपलाल नगरकोटी लगायत वडाका नेताकार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेकपा एमाले प्युठानले जिल्ला व्यापिरुपमा वडा तथा पालिका कमिटी पुनर्गठन गर्ने अभियानलाई तीब्र दिएको सचिब पोख्रेलले जानकारी दिनुभयो । मुलुकमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता बढाउन चाहने तत्त्वहरू अहिले समाजमा भ्रम छर्न क्रियाशील रहेकोको भन्दै नेताकार्यकर्तालाई सचेत रहदै त्यस्ता गलत तत्व र भ्रमलाई चिर्दै अगाडि बढ्न आग्रह गर्नुभयो ।
अस्थिरता अन्त्यका लागि गोलबन्द हुनुपर्ने आवश्यकता छ उहाँले भन्नुभयो । कार्यकर्ताले जनताका समस्यालाई आत्मसात गर्दै जनतालाई साथ लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।