
डा. अमर गिरी
दाङ
झुटहरू इतिहासदेखि थिए
तर आजको गहिराइ
आजकाे फैलावट
आजकाे उचाइ
रआजकाे कलात्मकता
थिएन तिनीहरूसँग ।
जब म झुटहरूकाे कुरा गर्छु
इतिहासबाट अनेकन नामहरू आउँछन्
मेरा अगाडि चित्रहरूकाे चाङ लाग्छ
एउटा लामाे श्रृङखला बन्छ नामहरूकाे
तर वर्तमानकाे झुटका अगाडि
इतिहासका सबै झुटहरू फिका लाग्छन्
सामान्य जस्ता लाग्छन् सबै नामहरू ।
साँचो जस्ताे बनेर
एकदमै साँचो जस्तो
झुटलेे सबैभन्दा बढी डसेकाे समय हाे याे
धेरैपटक झुक्किएकाे छु म
झुटलाई साँचाे ठानेर
अङ्गालाे मारेको छु
कविता लेखेको छु
गीत गाएको छु
चित्र काेरेकाे छु
मैले लेखेका कविताका हरफहरू
सुरक्षित छन् अखबारका पृष्ठहरूमा
मैले काेरेका चित्रहरू
मेरा काेठाका भित्ताहरूमा मुस्कुराइरहेछन्
झुटहरूबाट म सबैभन्दा बढी जिल्लिएकाे समय हाे याे
झुटहरूबाट जिल्लिएकाे मानिस
कस्ताे हुन्छ भनेर हेर्नुछ भने
मलाई हेरे हुन्छ ।
झुटहरूले एकप्रकारले
खाइसकेकाे मस्तिष्क छ मसँग
बानी परेको छ याे झुटहरूलाई साँचो भन्न
कलात्मक भाषा बाेल्न यसका पक्षमा
डर लाग्छ
कतै म यही मस्तिष्क बाेकेर मर्ने हुँ कि
शरीर सिरङ हुन्छ
दु: खकाे पियानाे बज्छ हृदयमा
र त्याे आँसु र क्राेधकाे भाषा बाेल्न सुरु गर्छ ।
कस कसले खडा गरे झुटकाे सम्राज्य ?
उनीहरूकाे उद्देश्य के हाे ?
के चाहन्छन् उनीहरू ?
उनीहरूका सपनाहरू के छन् ?
अलि गाह्राे छ यी प्रश्नहरूकाे उत्तर दिन
म झुटहरूकाे बिचमा छु
याे भने रात भए जत्तिकै साँचो हाे
साँचो हाे दिन भए जत्तिकै
जुनसुकै उत्तरहरू हाेउन्
देश झुटले मर्दै गरेकाे मलाई हेरिरहेछ
म झुटले मर्दै गरेकाे देश हेरिरहेछु ।
प्रिय मित्रहरू!
संसारमा सबैभन्दा गाह्राे
झुटहरूका बिचमा जिउनु हुँदाेरहेछ
विस्तारै विस्तारै
आफैले आफैलाई मर्दै गरेकाे हेर्न हुँदाेरहेछ ।