काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ । समुह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल प्रतियोगिताको दोस्रो चरण पुगेको हो ।
१४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रन बनाए । दीपक बोहराले २७ र आकाश त्रिपाटीले १६ रन जोडे ।
खनालले चौथो विकेटका लागि आकाश त्रिपाटीसँग ४९ र सातौँ विकेटका लागि दीपक बोहरासँग ३६ रनको साझेदारी गरेका थिए ।
समूह डीमा नेपाल तेस्रो हुँदै सुपर सिक्स पुगेको हो । अघिल्ला दुवै खेलमा पराजित भएको नेपालले अगाडि बढ्न अफगानिस्तानविरुद्ध जित्नैपर्ने दबाब थियो ।
नेपालले यसअघि सन् २०१६ मा आयोजित विश्वकप संस्करणमा पनि दोस्रो चरणको यात्रा तय गरेको थियो । दोस्रो चरणमा अब ६/६ टोलीका दुईवटा समूह रहनेछन् जसलाई सुपर सिक्स भनिएको छ । नेपाल रहेको समूहबाट पाकिस्तान र न्युजिल्यान्ड पनि सुपर सिक्स पुगिसकेका छन् ।