
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले अत्यधिक चिसो बढेको भन्दै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा तीन दिन जाडो बिदा दिइएको छ। नेपालगन्जमा अत्यधिक जाडो तथा शीतलहर बढेपछि शैक्षिक संस्था सञ्चालनमा कठिनाइ भएको भन्दै उपमहानगरले बिदा दिइएको हो ।
उपमहानगरपालिकाले सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा चिसोको कारण आज माघ ४ गतेदेखि लागुहुने गरि ६ गतेसम्म तीन दिन शिक्षण संस्थालाई जाडो बिदा दिइने सुचना मार्फत जानकारी गराएको छ।
तराई क्षेत्रमा मौसम प्रतिकूलताका कारण अत्यधिक चिसो बढेसँगै बालबालिकालाई चिसोले असर गरेकोले जाडो बिदाबाट कट्टी हुने गरि बिदा दिइएको उपमहानगरपालिकाले जानकारी दिएको छ । जिल्लामा दुई सातादेखि शीतलहरसँगै कुहिरो र हुस्सु लाग्नाले जनजीवन प्रभावित भएको उपमहानगरले जनाएको छ । अत्यधिक चिसोले बालबालिका बृद्धबृद्धाहरुलाई प्रत्येक्ष असर गर्ने भएकोले चिसोबाट बच्न न्यानो कपडा लगाउने, चिसोमा जथाभावी घरबाहिर ननिस्किने, बारम्बार तातोपानी पिउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।
नेपालगञ्ज लगाएत तराईका जिल्लामा केहि दिनयता शीतलहर चलेसँगै चिसो अत्यधिक बढेको छ । शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न र विद्यालय कोठामा चिसोको कारण बस्न समस्या भएको गुनासो आएपछि विद्यालयमा बिदा दिइएको उपमहानगरले जनाएको छ।