अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पार्टीका सन्धिखर्क नगर अध्यक्ष कुशल भुसालका पिता विष्णुप्रसाद भुसालको श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।
श्रद्धाञ्जली सभालाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बोधन गर्दै अर्घाखाँचीको सिंगो कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउन तथा समाज रूपान्तरणको अभियानलाई व्यापक बनाउन दिवंगत विष्णुप्रसाद भुसालले खेल्नु भएको भूमिकाको उच्च मूल्याङ्कन गर्नु भयो ।
`कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याउन उहाँको महत्वपूर्ण र अतुलनीय योगदान रहेको छ,´मुख्यमन्त्री आचार्यले भन्नुभयो-`जिल्लाको कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन, समाज रूपान्तरणमा उहाँले महत्वपूर्ण भूमिका खेल्नु भयो । अहिले उहाँको निधनका कारण हामी पीडामा छौं । अर्घाको समाज परिवर्तन गर्न उहाँको योगदान अतुलनीय छ । ठूलो संघर्ष गरेर योगदान गर्नु भएको हो । जातीय विभेदको खाडल मेटाउनका लागि जागरण अभियानलाई अघि बढाउन उहाँले खेलेको भूमिका प्रशंसनीय छ ।´
जीवनको ऊर्जाशील उमेर राजनीतिक जागरणमा खर्चिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले उहाँले देखाएको बाटोमा सबै अविचलित भएर लाग्ने र उहाँका सपनाहरू पूरा गर्ने संकल्प व्यक्त गर्नुभयो ।
श्रद्धाञ्जली सभामा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाललगायत पार्टीका नेता, कार्यकर्ता, समाजका अगुवा तथा परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो । भुसालकाे ६८ बर्षकाे उमेरमा निधन भएको थियाे ।



S.K. Creative Media Group