प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भित्र पर्ने बाग्दुला-मच्छी गौमुखी सडकको विभिन्न खण्डमा वर्षाको कारण हिलाम्मे भएको सडकको मर्मत गरेको छ ।
झिमरुक गाउँपालिकाको बाग्दुला-मच्छी गौमुखी सडक अन्तर्गत बतासेडाँडा, घुम्नेठाटी, चिसावाङ, अर्गेली मच्छी, ढाड लगायतका खण्डहरुमा वर्षाको कारण हिलाम्मे तथा खाल्डाखुल्डी परेको सडकमा ग्राभेल राखेर पुर्ने काम गरिएको हो ।
अहिले धमाधम स्तरोन्नति भैरहेको उक्त सडकमा वर्षासँगै आएको पानीले हिलाम्मे र खाल्डाखुल्डी परी यातायात संचालनमा समस्या भएको भन्दै झिमरुक गाउँपालिकाले सडक मर्मत तथा ग्राभेल गर्ने कार्य गरिएको गाउँपालिकाले जनाएको छ । सडक मर्मत गरेपछि यातायात तथा पैदल यात्रा गर्ने यात्रुलाई सहज हुने अपेक्षा पालिकाले लिएको छ ।
बुधबारसम्म झिमरुकले आफ्नो क्षेत्रमा पर्ने सडकको विभिन्न खण्डमा जनप्रतिनिधि र प्राबिधिक टोलीले बिग्रेको सडकको अनुगमन गरि मर्मतको काम सम्पन्न गरेको उक्त सडकको साइट इन्चार्ज सब-इन्जिनियर नगेन्द्र आचार्यले जानकारी दिनुभयो ।
प्युठानको बजारिक केन्द्र बाग्दुला देखि शुरु भएर ३ पालिका प्युठान नगरपालिका, झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकाको अर्खासम्म यो सडक कच्ची रहेको छ । वर्षातको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्याले सडक आसपासका जनता र यात्रुहरुले सास्ती व्यहोर्नुपरेको छ । पछिल्लो समय स्थानीय, प्रदेश र संघ सरकारको संयुक्त लगानीमा विभिन्न क्षेत्रमा सडक स्तरोन्नतिको काम भैरहेको छ ।


S.K. Creative Media Group