प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ को प्रथम त्रैमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। आइतबार झिमरुक गाउँपालिकाको प्रथम त्रैमासिक अवधिमा भए गरेका योजना तथा कार्यक्रम र गतिविधिको बारेमा सार्वजनिक सुनुवाइ गरिएको हो।
गाउँपालिकाले आफ्ना शाखा तथा मातहतका कार्यालयहरूबाट प्रथम चौमासिकसम्म प्रदान गरिएका सेवा, योजना, कार्यक्रम र अन्य गतिविधि बारे जानकारी पालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिकाले आफ्ना शाखा तथा मातहतका कार्यालयहरूबाट प्रदान गरिएका सेवा, योजना, कार्यक्रम र अन्य गतिविधि बारे जानकारी गराउन र सेवाग्राहीसँग अन्तरक्रिया गर्न तथा सेवा प्रदायक कार्यालय संस्थालाई थप जवाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिनुभयो।
कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, भवन, सिँचाइ, विद्युत्, विपद् व्यवस्थापन, न्यायिक सेवा, सुशासनलगायतका विषयमा जिज्ञासा, सुझाव र गुनासा राखेका थिए। सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताले उठाइएका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, वडा अध्यक्षहरू तथा सम्बन्धित शाखा प्रमुखहरूले दिनुभएको थियो।
झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, अन्य जनप्रतिनिधि तथा सम्बन्धित शाखा प्रमुख, प्रहरी, वडा सचिब, प्राविधिक राजनीतिक दलका प्रतिनिधि, स्थानीय उपभोक्ता र नागरिकहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण पत्रकार शमशेर बिक्रम जिसीले गर्नुभएको थियो । गाउँपालिकाले पारदर्शिता र जवाफदेहिताको औजारको रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम प्रत्येक त्रैमासिकमा सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले नागरिकले दिएको सकारात्मक सल्लाह र सुझावलाई अनुसरण गर्दै अगाडि बढ्ने बताउनुभयो । स्थानीय जनताको रचनात्मक सल्लाह र सुझावले नै पालिकालाई समृद्धि दिशातर्फ लैजान सहयोग पुग्ने भएकोले नागरिकको सकारात्मक सल्लाह, सुझाव सँगसँगै खबरदारी पनि निरन्तर हुनुपर्ने बताउनुभयो ।





S.K. Creative Media Group