प्यूठान । झिमरुक गाउँपालिकाले अशक्त भएका अपांगहरुलाई घरमै पुगेर परिचय पत्र बितरण गरेको छ । पूर्ण अशक्त भएका कार्यालयमा सेवा लिन नसक्ने ब्यक्तिहरु पहिचान गरि उहाँहरुको सहजताको लागि घरमै पुगेर परिचयपत्र वितरण गरिएको हो ।
बिहिवार घरमै पुगेर दुई जना पूर्ण अशक्त अपाङ्गता भएको ब्यक्तिहरुलाई (क) वर्ग परिचय पत्र र एक जना अति अशक्त अपाङ्गता भएको ब्यक्तिलाई (ख) वर्ग अपाङ्गता परिचयपत्र वितरण गरिएको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार झिमरुक गाउँपालिका -२ सापडाँडाका पूर्ण अशक्त अपाङ्गता भएकी लक्ष्मी थापा क्षेत्री र वडा नम्बर -८ टिमुरचौर बस्ने तुलस सुनारलाई (क) वर्ग परिचय पत्र दिएको बताउनुभयो ।
त्यस्तै वडा नम्बर-८ गब्दी बस्ने नारायण बस्नेतलाई अति अशक्त अपाङ्गता अन्तर्गत (ख) वर्ग अपाङ्गता परिचयपत्र दिएको उहाँले जानकारी दिनुभयो।
सबै वडाका गाउँ बस्तेमै पुगेर अपांगता भएका ब्यक्तिहरुलाई नियमानुसारको परिचयपत्र वितरणको अभियान थालिएको प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले जानकारी दिनुभयो ।
आफ्नै घर आगनमा सेवा पाउँदा आफुहरु निकै खुसि भएको स्थानीय दिपक सुनारले बताउनुभयो । यस्ता जनमुखी कार्यक्रमले जनतालाई लाभ पुगेको बताउनुभयो । उहाँले पालिका परिवारलाई धन्यवाद समेत दिनुभयो ।
पालिका उपाध्यक्ष प्रमोद पोख्रेलको अगुवाइमा प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, स्वास्थ्य शाखा उप प्रमुख हरी जिसी, महिला बालबालिका शाखा प्रमुख शर्मिला बिक, वडा अध्यक्ष, जनप्रतिनिधि लगाएको उपस्थिति रहेको थियो ।



S.K. Creative Media Group