प्यूठान । अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । आफ्ना नागरिकलाई घर नजिकैको बस्तिमा सेवा दिने उद्देश्यले मल्लरानी गाउँपालिका वडा नम्बर ३ ले सामाजिक सुरक्षा भत्ता वडाका दुई स्थानबाट वितरण गरिरहेको छ ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंक खलंगा शाखाले वडा कार्यालय र नेपाल प्रहरीसंगको सहयोगमा गाउँमै गएर वडावासीलाई भत्ता दिईरहँदा सोमबार बैंक र वडा अध्यक्षले बाटोमै भत्ता दिएर वडावासीको मन जितेका छन ।

‘जेविन्डाँडाका स्थानीय जेष्ठ नागरिक ८४ बर्षीय डिल बहादुर घर्ती मुसलधारे पानी परेर भत्ता बाड्ने स्थान चौरपानी सेवा ईकाईमा पुग्न नसकेपछि बाटोमा रहेको एक सहकारीमा ओत लागेर बस्नु भएको थियो,’ वडा अध्यक्ष नोमराज पौडेलले भन्नुभयो, ‘बाले मलाई अति जरुरी छ बाबु मलाई भत्ता दिनुन भनेर गाडी रोकेपछि बैंकका कर्मचारीहरुले बाटोमै पैसा दिँदा उहाँ खुसी हुनुभयो र धन्यवाद दिनुभयो ।’

७५ बर्षीय चित्रादेवी शर्मा पनि सोमबार दिउँसो आएको हावाहुरी र पानीका कारण सुरक्षा भत्ता वितरण गरेको स्थानमा जान नसकी बाटो मै बस्नुभएको थियो । उहाँ वर्षातका कारण भत्ताको पैसा लिन नपाएपछि अर्काे दिन महिला समुहमा कसरी पैसा बुझाउने भनेर चिन्तित हुनुहुन्थ्यो । उहाँले पनि बाटोमा नै गाडी रोकेर समस्या बताएपछि भत्ताको पैसा दिएको वडाध्यक्ष नोमराज पौडेलले बताउनुभयो ।

सकेसम्म वृद्धवृद्धाहरुले दुःख नपाउन भन्ने उद्देश्यले जनप्रतिनिधि र प्रहरीको रोहबरमा आफुहरुले काम गरिरहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक खलंगा शाखाका प्रमुख विञ्जुन बस्नेतले बताउनुभयो ।

मल्लरानी गाउँपालिकाले बैंक सम्म पुग्न नसक्ने लाभग्राहीलाई वडामा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय