प्यूठान । स्वर्गद्वारी नगरपालिका–५ स्थित उमामहेश्वरी माध्यमिक विद्यालयमा निःशुल्क माटो परीक्षण तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई प्यूठानको सहयोगमा गाउँका स्थानीय किसानको माटो जाँच गरिएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान सिकाउने गरि माटोको परीक्षण र त्यस सम्वन्धि अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा माटो विज्ञ इन्द बहादुर ओलीले ४५ जना किसानको खेतबारीको माटो परीक्षण गरिएको बताउनुभयो । उहाँले मलको सही प्रयोग र व्यवस्थापन नहुँदा माटोलाई आवश्यक पर्ने तत्वको कमी हुने गरेको बताउनुभयो । उहाँले मललाई घाममा सुकाउने अभ्यास नै गलत भएको भन्दै त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वय इकाई प्यूठानका प्रमुख चुमानसिंह गिरीले कृषि प्राविधिक अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सैदान्तिक ज्ञानमा मात्र जोड नदिइ बढीभन्दा बढी प्रयोगात्मक ज्ञान सिक्न आग्रह गर्नुभयो । उहाँले प्राविधिक विषयको अध्ययन भएकाले प्रयोगात्मक विषयको प्रयोग र सिकाईमा जोड दिनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा ५ नम्वर वडाका वडा अध्यक्ष गिर बहादुर घर्तिमगर, विद्यालयका प्रधानाध्यापक रामराज पोख्रेलले कार्यक्रमले विद्यार्थीहरुलाई हौसला मिलेको बताउनुभयो ।


S.K. Creative Media Group