रुकुम पश्चिम । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। घरनजिकै बाटोमा खेलिरहेका रमेश नाथमाथि स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथले ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार, शुक्रबार साँझ करिब ५ः३० बजे बलबहादुर नाथका छोरा रमेश नाथ घरनजिकै बाटोमा खेलिरहेका बेला स्थानीय भक्तबहादुर नाथले एक्कासि बालकको टाउकोमा ढुङ्गा प्रहार गरेर घाइते बनाएका थिए ।
ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि सुरुमा स्वास्थ्य चौकी पिपल लगिएको प्रहरीले जनाएको छ। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएको थियो।
जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा शुक्रबार राति १० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ।
घटनामा संलग्न रहेको आरोपमा भक्तबहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार भक्तबहादुरको मानसिक अवस्था ठीक नभएको बताएको छ।
घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ। फोटो : AI


S.K. Creative Media Group