प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका–५, मच्छिमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ। चाडपर्व लक्षित प्रतियोगिताको मंगलबार गौमुखी क्याम्पसको खेलमैदानमा गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले उद्घाटन गर्नुभएको हो।
प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष महतरा क्षेत्रीले स्थानीय खेलाडीको प्रतिभा पहिचान, प्रोत्साहन र खेलकुद क्षेत्रको विकासका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो। झिमरुक गाउँपालिकाले खेलकुदलाई प्राथमिकता दिँदै विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको उहाँको भनाइ थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले खेलकुदको विकास, स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान तथा स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।
झिमरुक गाउँपालिका–५ का वडा अध्यक्ष दधिराम पोख्रेलका अनुसार प्रतियोगितामा पुरुषतर्फ ९ टोली र महिलातर्फ ४ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १४ हजार, ९ हजार र ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ७ हजार ५ हजार र २ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। दुवै विधाका विजेता टोलीलाई मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।
वडा अध्यक्ष दधिराम पोख्रेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, स्थानीय खेलाडी, खेलप्रेमी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव भगवती शर्माले गर्नुभएको थियो।
झिमरुक गाउँपालिकाका विभिन्न वडामा अहिले वडा स्तरीय भलिबल प्रतियोगिता सञ्चालन भइरहेका छन्। हिजोबाट झिमरुक गाउँपालिका-६ पुरुष तथा महिला भलिबल खेल गरिरहेको छ ।
यस्ता प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडी उत्पादन र खेल संस्कृतिको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


S.K. Creative Media Group