प्युठान । सहकारी संस्थालाई परम्परागत बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी उत्पादन, उद्यमशीलता र आयआर्जनसँग जोड्ने उद्देश्यले प्युठानमा सहकारीकर्मीहरूलाई रणनीतिक तथा व्यावसायिक योजना निर्माणसम्बन्धी तालिम प्रदान गरिएको छ।
जिल्ला सहकारी संघ प्युठानको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालिम शनिबार जुम्रीमा सम्पन्न भएको हो। तालिममा जिल्लाका विषयगत सहकारी संघ तथा प्रारम्भिक सहकारी संस्थाका अध्यक्ष, पदाधिकारी र व्यवस्थापक कर्मचारी गरी ३४ जनाको सहभागिता रहेको थियो।
सहकारी संस्थाहरूलाई स्पष्ट व्यावसायिक योजना निर्माण गर्न सक्षम बनाउँदै संस्थागत क्षमता अभिवृद्धि, आर्थिक सुदृढीकरण र दिगो विकासमा सहयोग पुर्याउने लक्ष्यसहित तालिम आयोजना गरिएको जिल्ला सहकारी संघ प्युठानका अध्यक्ष सुशील पोखरेलले जानकारी दिनुभयो।
शुक्रबार प्युठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगीले तालिमको उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख योगीले सहकारीलाई सदस्यहरूको बचत संकलन र ऋण लगानीमा मात्र सीमित नराखी उत्पादन तथा आयआर्जनका कार्यक्रमसँग जोड्नुपर्ने बताउनुभयो।
सहकारीमा जम्मा भएको पुँजीलाई योजनाबद्ध रूपमा परिचालन गरी व्यावसायिक गतिविधि सञ्चालन गर्न सके सदस्यहरूलाई निर्वाहमुखी अवस्थाबाट आत्मनिर्भरतातर्फ अघि बढाउन सकिने उहाँले बताउनुभयो।
जिल्ला सहकारी संघका अध्यक्ष पोखरेलले सहकारी संस्थाको दिगोपन र प्रभावकारिताका लागि व्यावसायिक योजना, आर्थिक अनुशासन, सुशासन र पारदर्शिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपले सहकारी संस्थाहरूलाई योजनाबद्ध रूपमा सञ्चालन गर्न तथा आर्थिक–सामाजिक रूपान्तरणमा योगदान पुर्याउन सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो ।
तालिमको समापनमा सहभागीका तर्फबाट मन्तव्य राख्दै नारायणबहादुर जिसी र शर्मिला रावतले तालिम उपलब्धिमूलक रहेको बताउनुभयो। तालिममा सिकेका ज्ञान, सीप र अनुभवलाई आ–आफ्नो संस्थामा व्यवहारमा उतार्ने प्रतिबद्धता पनि उहाँहरूले व्यक्त गर्नुभयो।
जिल्ला सहकारी संघ प्युठानका अध्यक्ष सुशील पोखरेलको अध्यक्षतामा भएको तालिमको सहजीकरण कोमलराज अधिकारीले गर्नुभएको थियो।


S.K. Creative Media Group