प्यूठान । भारतको मुम्बईमा आयोजना हुन लागेको ‘तेस्रो विश्व मेयर सम्मेलन २०२६’ मा सहभागी हुन प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका केन्द्रीय समिति सदस्य प्रमोद पोखरेल भारत जान लाग्नुभएको छ ।
अखिल भारतीय स्थानीय स्वशासन संस्थानको स्थापनाको १०० वर्ष पूरा भएको अवसरमा मुम्बईस्थित फेयरमोन्ट होटलमा मंसिर ९ र १० गते हुने सम्मेलनमा भाग लिन पोखरेल जान लाग्नुभएको हो ।
सम्मेलनमा भारत तथा विश्वका विभिन्न सहरबाट नगरप्रमुखहरू, सहरका नेतृत्वकर्ता, नीतिनिर्माता, विद्वान तथा विकास साझेदारहरूसहित ५०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ । नेपालबाट आठ जनाको टोली जान लागेको सम्मेलनमा लुम्बिनी प्रदेशबाट दुई जना प्रतिनिधित्व रहेको उपाध्यक्ष पोखरेल जानकारी दिनुभयो ।
सम्मेलनका विभिन्न सत्रहरूमा स्थानीय शासन, सहरी आवागमन तथा यातायात व्यवस्थापन, कृत्रिम बौद्धिकता, सहरी विकास तथा महानगरीय सुशासन, चक्रीय अर्थतन्त्र, जलवायु परिवर्तन, फोहोरमैला तथा पानी व्यवस्थापन र सहरहरूबीचको आपसी सहकार्य लगायतका विषयमा बृहत् छलफल हुनेछ ।
यस सम्मेलनले स्थानीय सरकारका सफल अभ्यास तथा अनुभवहरू आदानप्रदान गर्ने, अन्य देशका समकक्षीहरूबाट नयाँ ज्ञान हासिल गर्ने र विश्वका विभिन्न सहरहरूसँग आपसी सम्बन्ध तथा साझेदारी विस्तार गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उपाध्यक्ष पोखरेलले बताउनुभएको छ ।


S.K. Creative Media Group