प्युठान । प्युठानको झिमरुक गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा परम्परागत द्वादशी मेला भव्य रूपमा सम्पन्न भएको छ । मंसिर ५ गते शनिबार द्वादशीको अवसरमा वडा नम्बर–८ दिहाल्नाचौरस्थित लालीगुराँस रङ्गशाला र वडा नम्बर–५ मच्छीस्थित मैनाके खेलमैदानमा लागेका मेलामा हजारौँ दर्शक तथा आन्तरिक पर्यटकको उल्लेख्य सहभागिता रहेको थियो ।
दिहाल्नाचौरमा भैलो, सराय नाच र हिमाली दृश्यावलोकन
झिमरुक गाउँपालिका–८ दिहाल्नाचौरस्थित लालीगुराँस रङ्गशालामा सम्पन्न द्वादशी मेलामा प्युठानसहित अन्य जिल्ला तथा छिमेकी पालिकाबाट हजारौँ दर्शक पुगेका थिए । मेलाको मुख्य आकर्षणका रूपमा परम्परागत भैलो र सराय नाच प्रस्तुत गरिएको थियो । भैलो प्रदर्शनमा ९ वटा र मौलिक सराय नाचमा ४ वटा समूहले सहभागिता जनाएका वडा अध्यक्ष तुलस बहादुर बस्नेतले जानकारी दिनुभयो ।
मेलाले स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्नुका साथै आपसी सद्भाव र सामाजिक एकता बलियो बनाउन सघाउ पुर्याएको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले परम्परागत मेलाले स्थानीय पहिचान र मौलिक संस्कृतिको संरक्षणमा टेवा पुर्याउने बताउनुभयो ।
उहाँले लालीगुराँस रङ्गशाला, दिहाल्नाको मुल्चुल, इख्नाथान, तुषाराकोट तथा गौमुखीको गोद्रेचौरजस्ता आन्तरिक पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास गरी स्थानीय बासिन्दालाई आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
स्थानीय कला–संस्कृतिको संरक्षण मात्र होइन, समुदायबीच आपसी सद्भाव र सामाजिक एकतालाई समेत अझ कसिलो बनाएको उहाँको भनाइ छ ।
झिमरुक, नौबहिनी र गौमुखी गाउँपालिकाको संगमस्थलजस्तै रहेको दिहाल्नाचौरबाट अन्नपूर्ण, धौलागिरि र माछापुच्छ्रे हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।
मेलामा सहभागी दर्शनहरूले हिमाली दृश्य अवलोकन गर्दै तस्बिर तथा भिडियो खिचेर रमाएका थिए । धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके आन्तरिक पर्यटनको प्रमुख गन्तव्य बन्न सक्ने सम्भावना रहेको जानकारहरु बताउँछन् ।
झिमरुक गाउँपालिका-८, का वडा अध्यक्ष तुलस बहादुर बस्नेतको अध्यक्षतामा भएको भेलाको सहजीकरण पत्रकार केशर सुनारले गर्नुभएको थियो ।
मच्छीमा सराय, भैलेसँगै परम्परागत खेलकुद
झिमरुक गाउँपालिका–५ मच्छीस्थित मैनाके खेलमैदानमा पनि परम्परागत द्वादशी मेला उत्साहपूर्वक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यतामा मेला सम्पन्न भएको हो ।
मेलामा सराय नाच र भैले नाचसँगै भाले टिपाइ तथा घैँटो फोरजस्ता परम्परागत खेलहरू समेत समावेश गरिएका गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष दधिराम पोख्रेलले जानकारी दिनुभयो । स्थानीय कलाको पहिचान तथा स्थानीय उत्पादनको प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।
मेलाको संरक्षण, प्रवर्द्धन र विकासमा सबै तहका सरकारले ध्यान दिनुपर्ने जिल्ला समन्वय समिति प्रमुख जिसीले बताउनुभयो । मेलाको थप व्यवस्थापन र दिगो विकासका लागि आयोजक समिति तथा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहने उहाँको भनाइ थियो ।







S.K. Creative Media Group