प्यूठान । झिमरुक गाउँपालिका-२, गडेरपानी स्थित सर्वोदय माध्यमिक विद्यालयले आफ्नो ३८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ।

आइतबार बिद्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव तथा अभिभावक दिवसको गाउँपालिका अध्यक्ष पितबहादुर महतराक्षेत्रीले दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको हो।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष महतराक्षेत्रीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। व्यवस्थापन समिति, शिक्षक विद्यार्थी र अभिभावकको सहकार्य समन्वय गर्नुपर्ने धारण व्यक्त गर्नुभयो । जनशक्ति, शैक्षिक, भौतिक तथा अन्य व्यवस्थापनको लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पछिल्लो समय युवायुवती विदेश पलायन हुने क्रम र यसको तथ्यांक चिन्ताजनक रहेको उल्लेख गर्दै उहाँले सबै तहका सरकार यस विषयमा गम्भीर हुनुपर्ने धारणा राख्नुभयो। नेपालमै नयाँ अवसरको खोजी गर्दै दक्ष जनशक्तिलाई देशमै रोक्न सम्भावनाको पहिचान र उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो।

यसका लागि स्थानीय तहको प्रयास मात्र पर्याप्त नहुने भन्दै संघ र प्रदेश सरकारले पनि फराकिलो सोचका साथ नीति तथा कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा झिमरुक गाउँपालिका–३ र ७ का वडाध्यक्ष मीनबहादुर केसी र कृष्णबहादुर जिसी, पूर्ववडाध्यक्ष बलबहादुर महतरा, प्रभात आधारभूत विद्यालयका शिक्षक तीर्थराज पोख्रेल, युवा नेता मिलन एमसी, समाजसेवी झकबहादुर जिसीलगायतले विद्यालयको आर्थिक, भौतिक तथा शैक्षिक विकासका लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

शिक्षक प्रतिनिधि रमेशबहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लालबहादुर एमसीले विद्यालयको समग्र अवस्था समेटिएको प्रगति प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष पितबहादुर महतराक्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै कार्यक्रमको सञ्चालन शिक्षक शिवबहादुर महतराले गर्नुभएको हो।

२०४५ सालमा स्थापना भएको विद्यालयमा ३ सय ३५ भन्दा बढी विद्यार्थी अध्ययनरत

सर्वोदय माध्यमिक विद्यालय वि.सं. २०४५ सालमा स्थापना भएको हो। हाल विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ। विद्यालयमा ३३५ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ।

शैक्षिक सत्र २०८१ मा कक्षा १० र १२ को परीक्षामा विद्यालय जिल्ला प्रथम भएको थियो। त्यस्तै, २०८१ को एसईई परीक्षामा झिमरुक गाउँपालिकाभरि तेस्रो स्थान हासिल गरेको पालिकाले जनाएको छ।

वार्षिकोत्सवको अवसरमा शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउने तथा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने एघार जना शिक्षक–शिक्षिकालाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ। सोही अवसरमा अक्षयकोष दाताहरुलाई समेत सम्मान गरिएको थियो।

त्यस्तै, विद्यालयमा अध्ययनरत जेहेन्दार, दलित तथा विपन्न विद्यार्थी, नियमित उपस्थित हुने र उत्कृष्ट नतिजा हासिल गर्ने ३० जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको प्रधानाध्यापक लालबहादुर एमसीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय