धादिङ । नागढुंगा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभिरमा गएको सुख्खा पहिरो हटाउन दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।
घोप्टेभिरमा लगातार सुख्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गरेर जोखिमयुक्त ढुंगा तथा माटो हटाउन लागिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार उक्त समयावधिमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ। सडकमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम सम्पन्न गर्न दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो ।
यस व्यवस्थाका कारण काठमाडौं, धादिङ, चितवन तथा अन्य जिल्लातर्फ आवतजावत गर्ने यात्रु र सवारीसाधन प्रभावित हुनेछन्। त्यसैले यात्रु तथा सवारी चालकलाई सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको छ ।
सडक बन्दसम्बन्धी थप जानकारीका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको हटलाइन १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



S.K. Creative Media Group