प्यूठान । राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानको २०औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष लोकराज भुसालको अध्यक्षता तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा खलंगामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूको हक, हित, अधिकार र संरक्षणका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूल प्रवाहमा सहभागी गराउन स्वयं अपाङ्गता भएका व्यक्तिहरूको सक्रियतासँगै स्थानीय तह, सरकारी निकाय तथा विभिन्न संघसंस्थाको सहकार्य आवश्यक रहेको बताएका थिए। साथै अपाङ्गता भएका व्यक्तिहरूले पाउनुपर्ने अधिकार, सेवा तथा सुविधाहरू सहज र प्रभावकारी रूपमा उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रमुख अतिथि मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्काले गाउँपालिका अपाङ्गता भएका व्यक्तिहरूप्रति समावेशी र संवेदनशील रहेको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूको हित, संरक्षण र विकासका लागि गाउँपालिकाले विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।
त्यसैगरी विशिष्ट अतिथि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह केसीले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न व्यक्ति, सरकारी निकाय, स्थानीय तह तथा संघसंस्थाबीच हातेमालो र सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूको सम्मान, सहभागिता र अधिकारका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।

यसैबीच कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष हुनाराम खड्कालाई संस्थाको विकास र योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो । संस्थाका जगदाता तथा मानार्थ सदस्य भरतकुमार श्रेष्ठले स्थापना गर्नुभएको अक्षय कोषबाट शारीरिक अपाङ्गता भएका आवासीय बालबालिकाहरूलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो ।

जिल्लाका विभिन्न स्थानीय तहबाट अपाङ्गता सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा संस्थाको आगामी कार्ययोजना, संस्थागत विकास तथा अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार संरक्षणका विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह केसीको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी संस्थाका निवर्तमान अध्यक्ष हुनाराम खड्का, संस्थाका जगदाता तथा मानार्थ सदस्य भरत कुमार श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालय प्यूठानका प्रमुख विष्णुप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका महासचिव उजेली बीसीको सञ्चालनमा भएको कार्यक्रममा कार्यसमिति सदस्य कृष्णबहादुर जिसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा महासचिव उजेली बि.क.ले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सीता सुनारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय