बुटवल । मौलिक खानाका परिकारमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा आजदेखि सडक खाना महोत्सव आयोजना हुने भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीको आयोजनामा बुटवल–११ देवीनगरस्थित रंगशालामा हुने महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

संघले बिहीबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो । चार दिनसम्म सञ्चालन हुने महोत्सवमा थारू, नेवारी, मगर, थकालीलगायत विभिन्न समुदायका मौलिक खानाका ५० भन्दा बढी स्टल रहने महोत्सव संयोजक तथा संघका अध्यक्ष माधवकुमार खनालले जानकारी दिनुभयो ।

मौलिक नेपाली खानाको स्वादसँगै कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको खनालले बताउनुभयो। महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने खाद्य स्वच्छता र सरसफाइमा विशेष ध्यान दिइने आयोजकले जनाएको छ ।
महोत्सवमा दुई लाख दर्शक सहभागी हुने र एक करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ । संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले सडक खाना महोत्सव बुटवलको पहिचान र ब्रान्डका रूपमा स्थापित हुँदै गएको बताउनुभयो।

महोत्सव हरेक दिन साँझ ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहनेछ ।

महोत्सवको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गर्ने कार्यक्रम रहेको छ । उद्घाटनअघि बुटवलका विभिन्न स्थानबाट झाँकीसहित सहभागीहरू महोत्सवस्थल पुग्ने आयोजकले जनाएको छ ।

बुटवलमा २०७५ सालदेखि सडक खाना महोत्सव निरन्तर आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय