धादिङ । धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार बिहान करिब ११ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका निवासी अन्दाजी २८ वर्षीय बरुण प्रसाद भट्ट गम्भीर घाइते भएका थिए । उहाँलाई उपचारका लागि बैरेनी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि प्रहरीले टिपर र त्यसका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी अन्दाजी ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


S.K. Creative Media Group