‘स्वर्गद्वारीको दर्शन गर्न पाउँदा निकै आनन्दित छु, सबैको कल्याण होस्’
प्युठान । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्युठानस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी पुगेर स्वर्गद्वारी महाप्रभुको दर्शन तथा विशेष पूजाअर्चना गर्नुभएको छ ।
मंगलबार बिहान तपोभूमि स्वर्गद्वारी आश्रम पुग्नुभएका देउवालाई आश्रमका उत्तराधिकारी ध्रुवश्रीले स्वागत गर्दै स्वर्गद्वारी महाप्रभुको जीवन, तपस्या तथा आश्रमको धार्मिक र ऐतिहासिक महत्त्वबारे जानकारी गराउनुभएको थियो ।
दर्शनपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री देउवाले स्वर्गद्वारी दर्शनले आफूलाई निकै आनन्दित बनाएको उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “धार्मिक तपोभूमि प्युठानको स्वर्गद्वारी मन्दिरको दर्शन गर्न पाउँदा निकै आनन्दित भएको छु । सबैको कल्याण होस् ।”
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन उद्घाटनका लागि दाङको देउखुरी आउनुभएका देउवा सोही सिलसिलामा मंगलबार स्वर्गद्वारी पुग्नुभएको हो ।
दर्शन तथा पूजाआजाका क्रममा देउवासँगै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका नवनिर्वाचित सभापति रोज राणा, प्युठान जिल्ला सभापति देवेन्द्र वर्मासहित जिल्लाका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।


S.K. Creative Media Group