प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले चाडपर्वलाई लक्षित गरि ‘यात्रु सहायता कक्ष’ संचालनमा ल्याएको छ । बिहीवार बडादशैं, दिपावली र छठपर्वको अवसरमा यात्रुको सुरक्षा र सहजताको लागि जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक कार्यालय र व्यवसायीहरुको सहकार्यमा यात्रु सहायता कक्ष सुरु गरिएको हो ।
प्यूठान नगरपालिकाको जुम्रीमा ‘यात्रु सहायता कक्ष’को आज एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय प्यूठान प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले उद्घाटन गर्नुभयो । उहाँले चाडपर्वको अवसरमा कुनै पनि यात्रुहरु ठगिनबाट जोगिन तथा समस्या परेमा प्रहरीहरुलाई खबर गर्न समेत आग्रह गर्नुभयो ।
फर्जी टिकट बेच्ने र डबल टिकट काट्ने, टिकटमा कालोबजारी गर्ने, यात्रूलाई सास्ती दिने अनधिकृत व्यक्तिहरु माथी निग्रानी गर्ने, पकेटमार लगायतका गतिबिधी निग्रानी समेत गर्न प्रहरी टोली परिचालन गरिने प्रहरी प्रमुख बस्यालले जानकारी दिनुभयो ।
चाडपर्वको अवसरमा क्षमता भन्दा बढी यात्रु बोक्ने र बढी भाडा असुल्ने गुनासो समेत आउने बताउँदै उहाँले यस्तो गुनासो नआउने गरेर काम गर्न यातायात व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
जिल्लाको सरुमारानी गाउँपालिका-४, बड्डाँडा, माण्डवी गाउँपालिका-३, चकचके र प्यूठान नगरपालिका-३, जुम्रीमा गरि तीन स्थानमा ‘यात्रु सहायता कक्ष’ संञ्चालन गरिएको प्रहरी प्रमुख डिएसपी बस्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आवस्यकता अनुसार ‘यात्रु सहायता कक्ष’ थप गर्दै लैजाने छौं ।”
जिल्ला प्रहरी कार्यालयको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय प्यूठानको सहकार्य र यातायात व्यवसायीहरुबीचको समन्वयमा यात्रु सहायता कक्षा संचालन गरिएको हो ।



S.K. Creative Media Group