प्यूठान । प्यूठानको नौबहिनी स्थित ऐतिहासिक महत्त्व रहिआएको माक्रे मन्दिरमा पहिलोपटक साँस्कृतिक मेला हुने भएको छ । ऐतिहासिक तथा धार्मिक महत्व रहेको माक्रे मन्दिरमा आउदो कार्तिक १ गते कोजाग्रत पुर्णिमाको अवसर पारेर मेला लाग्ने भएको हो
उत्तरी पुर्वी प्युठानको लुङ खोलाको बिचमा ढुङ्गा माथि कलात्मक तरिकाले निर्माण गरिएको ऐतिहासिक माक्रे मन्दिरमा कोजाग्रत पुर्णिमाको दिन विभिन्न साँस्कृतिक मेलाको आयोजना गरिने माक्रे दर्शन युवा क्लबका अध्यक्ष बलबहादुर केसीले जानकारी दिनुभयो ।
मेलाको उद्धघाटन लुम्बिनी प्रदेश सरकारका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा रोज राणाले गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । मेलाले यस क्षेत्रमा आन्तरिक पर्यटकीय गन्तव्य र यहाँको ऐतिहासिक तथा धार्मिक महत्वको बारेमा प्रचारप्रसार गर्ने र पर्यटन प्रबर्द्धन गर्ने रहेको बताउनुभयो ।
यस क्षेत्रमा निकै महत्त्वपूर्ण आन्तरिक पर्यटकीय गन्तव्य भएपनी प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । उहाँले भन्नुभयो, “महत्त्वपूर्ण पर्यटकीय गन्तव्यहरुको प्रबर्द्धन सँगसँगै हराउँदै गएको स्थानीय कला सस्कृतिको प्रदर्शन गरिने छ ।” मेलाले पर्यटन प्रबर्द्धन सँगसँगै आन्तरिक उत्पादनलाई बजारीकरण गरि आर्थिक चलायमान गराउन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ ।
माक्रे मेलामा स्थानीय कला सस्कृति, देउँसी भैलो, सराँए नाच पन्चेबाजा प्रदर्शन गरिने छ । यस बर्षदेखि निरन्तर रुपमा प्रत्यक बर्ष कोजाग्रत पूर्णिमामा ब्यबस्थित मेला आयोजना गरिने क्लबका अध्यक्ष केसीले जानकारी दिनुभयो ।



S.K. Creative Media Group