प्यूठान । बडा दशैंको भोलिपल्ट देखि जिल्लामा सराँय नाँच तथा बृहत सांस्कृतिक कार्यक्रम भैरहेका छन् । आज कोजाग्रत पुर्णिामाको अवसरमा जिल्लाका विभिन्न स्थानहरुमा सराँय नाच तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
नौबहिनी गाउँपालिका-६ र ८ को संगम स्थल बहाने खोलाको बिचमा रहेको ढुङ्गा माथी निर्माण गरिएको माक्रे मन्दिर झिलीमिली पाएर सिंगारिएको छ। ऐतिहासिक तथा सांस्कृतिक महत्त्व रहेको यस मन्दिरमा परम्परागत मान्यता र बिधि अनुसार स्थानीयले माक्रेको दर्शन तथा पुजापाठ गर्न सकिने छ । मन्दिर परिसरमा सराँय नाच तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
जिल्लामा यो संगै प्यूठान नगरपालिकाको बखडी मेला तथा बेलुवा क्वाडि स्थित बेलपत्रेश्र्वर महादेवको मन्दिरमा पनि सराँय नाच तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । त्यस्तै झिमरुक गाउँपालिका-२, को ऐतिहासिक धार्मिक स्थल गडिकोट आलमदेबी मन्दिरमा ऐतिहासिक सराँय नाच तथा बृहत सांस्कृतिक कार्यक्रम हुने वडा नम्बर २ ले जनाएको छ । उक्त गडिकोट मन्दिरलाई झिलीमिली पाएर सिंगारिएको छ। मेला हेर्न प्यूठान, अर्घाखाँची र गुल्मी जिल्लाका छिमेकी पालिकाका सयौंको संख्यामा स्थानीयको भिड लाग्ने गर्दछ । यी स्थान बाहेक अन्य स्थानहरुमा समेत परम्परा अनुसार सराँय नाच तथा बृहत सांस्कृतिक कार्यक्रम हुनेछन् ।
सरायँ नाचलाई थप व्यवस्थित बनाउदै भब्य सभ्य ढङ्गले प्रस्तुत गर्दै हराउदै गएको पुरानो कल संस्कृति संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली परम्परागत लोक संस्कृतिको जगेर्ना गर्दै आन्तरिक पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न यस्ता कार्यक्रम सहयोगी बन्ने बताइएको छ।
सराँय नाचमा नौमती बाजागाजा सहित महिलाहरु समेतले सरायँ नाच खेल्ने भएकोले दर्शकहरुले थप आनन्द लिन सकिने छन् । कोजाग्रत पुर्णिामा जिल्लाका दुई पालिका नौबहिनी र ऐरावती गाउँपालिकाले आज स्थानीय पर्व बिदा समेत दिएका छन् ।



S.K. Creative Media Group