प्यूठान । झिमरुक गाउँपालिकाले विद्यालयका आइसिटि फोकल शिक्षकहरूलाई ४ दिने क्षमता अभिवृद्धि तालिम दिएको छ । शिक्षकहरुलाई इमिस(IEMIS) प्रणालीको नयाँ अपग्रेडमा दक्ष बनाउने उदेश्यले यो तालिम दिएको हो ।
नयाँ शैक्षिकसत्र सुरु हुँदै गर्दा शिक्षकहरुलाई दिन लागिएको यस्तो तालिमले विद्यालयका आइसिटि फोकल शिक्षकहरूलाई समय सापेक्ष अगाडि बढाउन सहयोग पुग्ने अपेक्षा पालिकाले लिएको छ । बैशाख ७ देखि सुरु भएको तालिमको १० गते बिहिवार समापन गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष तथा वडा नम्बर १ का वडा अध्यक्ष धुर्वराज खनालले तालिमबाट प्राप्त ज्ञान शिपलाई आफ्नो आफ्नो बिद्यालयमा जिम्मेवारीअनुसार कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।
शिक्षकहरूले शैक्षिक गुणस्तर वृद्धि गर्न बनाइएको योजना पूर्ण रूपमा पालना गर्नुपर्ने उल्लेख गर्दै अन्य विषयमा आवश्यक सहयोग उपलब्ध गराउन पालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसीले सहभागीहरूलाई (IEMIS) प्रणालीको प्रभावकारी कार्यान्वयन तथा सिकाइलाई व्यवहारमा लागू गर्न सकेमात्र तालिमको औचित्य हुने भएकोले जिम्मेवार भएर सिकेका शिपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
झिमरुक गाउँपालिका अन्तर्गत ५२ विद्यालयका ५२ जना आईसीटी फोकल शिक्षकहरूलाई तामिम दिएको शिक्षा तथा खेलकुद शाखा प्रमुख पुष्प रानाले जानकारी दिनुभयो ।
तालिममा इमिस (IEMIS) अद्यावधिक प्रयोग, तथ्याङ्क व्यवस्थापन तथा प्रविधिमैत्री शिक्षणलाई व्यवहारिक रूपमा अभ्यास गराउने र रुचिपुर्ण सिकाई हासिल गर्ने उदेश्यले तालिम दिएको उहाँले जानकारी दिनुभयो ।
समापनको क्रममा सहभागीका तर्फबाट रुबिना विक र गणेश जिसीले तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गरि विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तालिम प्रशिक्षक सूर्य बहादुर जिएमले तालिममा सहभागीहरूको निकै सक्रियता रहेको उल्लेख गर्दै (IEMIS) प्रणालीको प्रभावकारी प्रयोगमार्फत सिकाइलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रशिक्षकहरुलाई शिक्षा शाखाले सम्मान गरेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख पुष्प रानाले गर्नुभएको थियो।
चार दिनसम्म चलेको तालिमको सहजीकरण पुष्प राना, शेरचन्द्र केसी, सूर्य बहादुर जिएम र कमल नगरकोटीले गर्नुभएको थियो ।



S.K. Creative Media Group