सुरक्षा केसी
सन्ध्या १६ वर्षकी, कक्षा ११ मा पढ्ने एक हँसिली र जेहेन्दार छात्रा थिई। केही महिनाअघिसम्म ऊ विद्यालयमा सधैं मुस्कुराउने, साथीहरूसँग रमाउने र सबै कार्यक्रममा अगाडि हुने गर्थी। तर विस्तारै उसको व्यवहार बदलिन थाल्यो।
उसले साथीहरूसँग बोल्न छोडी। कक्षामा ध्यान दिन सकिन। रातभर निद्रा लाग्दैनथ्यो। पढाइमा रुचि हराउँदै गयो। घरमा आमाबुबाले सोध्दा एउटै जवाफ आउँथ्यो, “केही भएको छैन।”
तर वास्तवमा सन्ध्याको मनभित्र धेरै कुरा थुप्रिएका थिए—पढाइको दबाब, भविष्यको चिन्ता, साथीहरूसँगको गलतफहमी र आफूलाई कसैले नबुझेको पीडा।
एक दिन विद्यालयमा नेपाली शिक्षिका माया म्यामले सन्ध्याको अनुहारमा लुकेको उदासी देख्नुभयो। उहाँले सन्ध्यालाई स्टाफ रुममा बोलाएर भन्नुभयो,
“सन्ध्या, यदि तिमीलाई ठीक लाग्छ भने म तिम्रो कुरा सुन्न चाहन्छु। अहिले मसँग समय छ।”
यो सुनेपछि सन्ध्या केही बेर मौन भई। उसलाई लाग्यो, “सायद फेरि उपदेश नै दिनुहुन्छ।”
तर माया म्यामले कुनै हतार गर्नुभएन। बीचमा रोक्नुभएन। मोबाइल पनि हेर्नुभएन। उहाँले केवल आँखा जुधाएर ध्यानपूर्वक सुनिरहनुभयो।
बिस्तारै सन्ध्याको आँखाबाट आँसु झर्न थाले।
“म धेरै थाकिसकेँ, म्याम। सबैले मबाट राम्रो नतिजा मात्र चाहन्छन्। कसैले मेरो मन कस्तो छ भनेर सोध्दैन। म हाँसे पनि भित्रबाट रोइरहेकी छु।”
माया म्यामले शान्त स्वरमा भन्नुभयो,
“तिमीले आज आफ्नो मन खोलेर ठूलो साहस देखाएकी छौ। तिमी एक्लो छैनौ।”
त्यो दिन माया म्यामले कुनै ठूलो समाधान दिनुभएन। उहाँले सन्ध्याको भावना स्वीकार गर्नुभयो, उसको पीडा बुझ्नुभयो र आवश्यक परे विद्यालयको काउन्सेलिङ सेवासँग पनि जोड्नुभयो।
केही हप्तापछि सन्ध्या फेरि मुस्कुराउन थाली। समस्या सबै समाप्त भएका थिएनन्, तर अब उसलाई आफ्नो कुरा सुन्ने र बुझ्ने मानिस भेटिएको थियो।
उसले डायरीमा लेखी—
“मेरो जीवन परिवर्तन गर्ने कुरा ठूलो सल्लाह होइन, कसैले मन लगाएर सुनेको त्यो आधा घण्टा थियो।”
सन्देश
धेरै मानिसलाई तुरुन्तै सल्लाह चाहिएको हुँदैन। उनीहरूलाई आफ्नो कुरा बिना आलोचना, बिना बीचमा रोकी, सहानुभूतिपूर्वक सुन्ने एउटा व्यक्ति चाहिएको हुन्छ।
सक्रिय सुनाइ (Active Listening) ले मानिसलाई सम्मान, सुरक्षा र साथ भएको अनुभूति गराउँछ। कहिलेकाहीँ केही मिनेटको मन लगाएर सुन्ने बानीले तनाव कम गर्न, सम्बन्ध बलियो बनाउन र मानसिक स्वास्थ्य जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
धन्यवाद।।
कथामा सम्मेलित पात्रहरू काल्पनिक हुन्, कसैको जीवनमा मेल खान गएमा र नाम मिल्न गएमा संयोग मात्र हुनेछ ।
(लेखक युनिभर्सल कलेज अफ मेडिकल साईन्स भैरहवाको लेक्चर हुनुहुन्छ ।)


S.K. Creative Media Group