प्यूठान । प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको छ । भवन हस्तान्तरणसँगै अब सडक पूर्वाधार विकास कार्यालयले आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।

सहरी विकास, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयअन्तर्गत निर्माण गरिएको उक्त भवन मंगलबार एक कार्यक्रमका बीच सडक पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको हो । भवन हस्तान्तरण कार्यक्रममा सहरी विकास, ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री डिल्लीराज भुसाल, भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीलगायतको उपस्थिति थियो ।

आयोजना आर्थिक वर्ष २०७८\७९ बाट सुरु भएको थियो । तामाकोशी-विजय जेभी, बेलवास-३, प्यूठानले निर्माणको जिम्मेवारी पाएको उक्त आयोजनाको सम्झौता २०७९ असोज १७ गते भएको थियो । सम्झौताअनुसार २०८१ साउन २६ गते निर्माण सम्पन्न गर्नुपर्ने भए पनि म्याद थप गरिएको थियो । निर्माण व्यवसायीले २०८३ साउन २२ गते आयोजना सम्पन्न गरेको हो ।

सुरुमा आयोजनाको सम्झौता रकम भ्याटसहित ३ करोड ४४ लाख ६ हजार ९ सय ५१ रुपैयाँ ७९ पैसा रहेको थियो । भेरिएसनपछि सम्झौता रकम ३ करोड ३७ लाख ६० हजार ३ सय ६० रुपैयाँ ६० पैसा कायम भएको छ । आयोजनाको अन्तिम बिल रकम भने भ्याटसहित ३ करोड ६ लाख ९६ हजार ९ सय ९३ रुपैयाँ ८४ पैसा रहेको छ । नवनिर्मित भवनमा २ दशमलव ५ तले आरसीसी स्ट्रक्चर फ्रेमसहितको कार्यालय भवन निर्माण गरिएको छ ।

आफ्नै भवन निर्माण भएपछि सडक पूर्वाधार विकास कार्यालयको सेवा प्रवाह, योजना कार्यान्वयन, प्राविधिक अनुगमन तथा प्रशासनिक काम थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । यसअघि कार्यालय सञ्चालनमा देखिएका भौतिक पूर्वाधारसम्बन्धी समस्यासमेत समाधान हुने जनाइएको छ ।

 

सहरी विकास, ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री डिल्लीराज भुसालले सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिनुभयो । भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीले नवनिर्मित भवनलाई सडक पूर्वाधार विकासको कामलाई थप प्रभावकारी बनाउने आधारका रूपमा लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, सरकारी कार्यालयका प्रमुख, निर्माण व्यवसायी, प्राविधिक कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय