धादिङ । लगातारको वर्षासँगै पहिरो खस्दा पृथ्वी राजमार्गअन्तर्गत धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ।

कृष्णभीरसहित राजमार्गका ६ स्थानमा ढुंगासहितको पहिरो खसेपछि केही स्थानमा दुवैतर्फी र केही स्थानमा एकतर्फी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा दुवैतर्फी सडक अवरुद्ध भएको छ। माथिबाट ढुंगासहित पहिरो खसिरहेको र अवरोध हटाउने क्रममा पुनः ढुंगा खस्न थालेपछि पहिरो पन्छाउने कामसमेत रोकिएको प्रहरीले जनाएको छ।

भदौ १० गतेको बाढीले सडक कटान गरी भासिएपछि नयाँ डाइभर्सन निर्माण गरेर सञ्चालनमा ल्याइएको कृष्णभीरमा पुनः पहिरो खसेको हो। डाइभर्सनलाई टेको दिइरहेको ग्याबिन जालीतर्फ समेत पहिरोको असर परेको छ भने माथिल्लो भागबाट लेदो तथा ढुंगा झरिरहेको स्थानीयले बताएका छन्।

त्यस्तै, बेनीघाट रोराङ गाउँपालिका-१० को तित्राङखोला र गाउँपालिका-९ को ज्यामिरेघाटमा पनि ढुंगासहित पहिरो खसेर दुवैतर्फी सडक अवरुद्ध भएको छ।

गजुरी गाउँपालिका-२ को पेरेवा भीरमा ढुंगासहितको पहिरो खसेपछि एकतर्फी सडक अवरुद्ध भएको छ। त्यहाँ अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।

बेनीघाट रोराङ गाउँपालिका-१० को ज्वाङखोलामा पनि माथिबाट ढुंगासहित पहिरो खसेपछि एकतर्फी सडक अवरुद्ध भएको छ। गजुरी गाउँपालिका-२ चालीसेमा समेत एकतर्फी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसैबीच धादिङ र आसपासका क्षेत्रमा पछिल्लो दुई दिनदेखि निरन्तर वर्षा भइरहेको तथा आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानपछि पृथ्वी राजमार्गमा थप जोखिम बढ्न सक्ने भन्दै सवारी आवागमन रोकिएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन रोक्ने निर्णय गरेको जनाएको छ।

लगातार वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक कटान तथा अन्य विपद्जन्य जोखिम बढ्न सक्ने भएकाले पृथ्वी राजमार्ग भएर यात्रा नगर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय