प्यूठान । सम्भावित विपद् बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न झिमरुक गाउँपालिकाले पूर्वतयारी तथा प्रतिकार्यका काम अघि बढाएको छ । गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरणका लागि कार्यान्वयन योजना, रणनीति निर्माण तथा पूर्वतयारीसम्बन्धी बैठक बिहिबार बसेर तयारी अघि बढाएको हो ।
बैठकमा सम्भावित विपद्को समयमा स्थानीयस्तरबाट गर्न सकिने सबै प्रकारका जोखिम न्यूनीकरणका उपायलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको गाउँपालिकाले जनाएको छ ।
विपद्को समयमा तत्काल उद्धार, उपचार तथा राहतका लागि वडा कार्यालय, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायलाई समन्वय गरी परिचालन गर्ने प्रतिबद्धता जनाइएको छ ।
गाउँपालिकाले स्वास्थ्य तथा औषधि आपूर्तिलाई प्राथमिकतामा राख्दै स्वास्थ्य शाखा र आवश्यक औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राखेको जनाएको छ । त्यस्तै, आपत्कालीन अवस्थामा घाइते तथा बिरामीको तत्काल उद्धारका लागि एम्बुलेन्स सेवा र प्राथमिक उपचार सामग्रीको व्यवस्थापन गरिएको छ ।
विपद्का कारण सडक अवरुद्ध हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सडक खुलाउने तथा यातायात व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ ।
मुख्य सडक तथा मदन भण्डारी लोकमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भए तत्काल खुलाउन सम्बन्धित निर्माण व्यवसायीलाई जिम्मेवारी तोकिएको गाउँपालिकाले जनाएको छ ।
जोखिम क्षेत्रमा माइकिङ गरिने
सम्भावित जोखिमबारे स्थानीय नागरिकलाई समयमै जानकारी गराउन गाउँपालिकाले माइकिङमार्फत पूर्वसूचना तथा जनचेतना अभिवृद्धि गर्ने तयारी गरेको छ ।
जोखिमयुक्त क्षेत्रमा सूचना प्रवाहलाई प्रभावकारी बनाउन स्थानीयस्तरमा हाते माइक (लाउडस्पिकर) समेत वितरण गर्ने योजना गाउँपालिकाको छ ।
त्यस्तै, आपत्कालीन उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल रेडक्रससँगको समन्वयमा स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको छ । विपद् प्रतिकार्यका लागि आवश्यक उद्धार सामग्रीसमेत भण्डारण तथा व्यवस्थापन गरिसकिएको गाउँपालिकाले जनाएको छ ।
बैठकले विपद्को समयमा सबै पक्षबीच प्रभावकारी समन्वय र सहकार्य गरी मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने र नागरिकको ज्यान तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने विषयमा जोड दिएको छ ।



S.K. Creative Media Group