प्यूठान । सीमित स्रोतसाधन, भौगोलिक कठिनाइका बीच पनि फोप्ली स्वास्थ्य चौकी नौबहिनी गाउँपालिकास्तरीय स्वास्थ्य संस्था मूल्याङ्कनमा दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

मूल्याङ्कनमा डाम्री स्वास्थ्य चौकी प्रथम, फोप्ली स्वास्थ्य चौकी दोस्रो र खवाङ स्वास्थ्य चौकी तेस्रो स्थानमा रहेका छन । स्वास्थ्य संस्थाहरूको समग्र सेवा प्रवाह, व्यवस्थापन र समुदायमा पुर्‍याएको योगदानलाई विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट स्वास्थ्य संस्था छनोट गरिएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालयबाट प्राप्त मूल्याङ्कन टुल, स्वास्थ्य संस्थाको प्रस्तुतीकरण, समन्वय तथा सहकार्य, प्रतिबद्धता, नवीनतम कार्य, मासिक अनुगमन पुस्तिका, होम डेलिभरीको अवस्था, डाटा इरर चेकलिस्ट लगायतका विभिन्न मापदण्डलाई मूल्याङ्कनको आधार बनाइएको थियो ।

यो उपलब्धि फोप्ली स्वास्थ्य चौकीका लागि केवल एउटा स्थान वा पुरस्कार मात्र नभई, सीमित स्रोतसाधनका बीच पनि समुदायको स्वास्थ्यका लागि निरन्तर खटिँदै आएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, आमासमूह र समग्र समुदायको सामूहिक प्रयासको सम्मानका रूपमा लिइएको छ ।

स्वास्थ्य चौकी प्रमुख प्रकाश घिमिरेले उपलब्धिप्रति खुसी व्यक्त गर्दै अझै केही सूचक तथा कामहरू पूरा गर्न बाँकी रहेकाले आगामी दिनमा ती सूचकहरूलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो। उहाँले प्राप्त उपलब्धिले थप जिम्मेवारी र हौसला दिएको उल्लेख गर्दै फोप्लीवासीलाई अझ गुणस्तरीय, सहज र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य चौकी निरन्तर प्रतिबद्ध रहने बताउनुभयो ।

कार्यक्रममा नौबहिनी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा तथा विभिन्न शाखाका प्रतिनिधिहरूको उपस्थिति थियो । त्यसैगरी किड्स नेपाल तथा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र खलंगा, प्यूठानका प्रतिनिधिलगायत विभिन्न संघसंस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत खड्ग विकले नागरिकको स्वास्थ्यलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । स्वास्थ्य सेवाका सूचकमा सुधार ल्याउन स्वास्थ्य संस्था र पालिकाबीचको समन्वय, सहकार्य र निरन्तर प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि गाउँपालिकाले स्वास्थ्य संस्थालाई आवश्यक साथ, सहयोग र सहजीकरण गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फोप्लीबाट सुरु भएको प्रयास अहिले गाउँपालिकाभरि

फोप्ली स्वास्थ्य चौकीले समुदायमा स्वास्थ्य सेवा सुधारका लागि सुरु गरेको महत्वपूर्ण अभ्यासमध्ये “गर्भवती महिलाहरूका लागि उद्धार तथा तत्काल सहयोग गर्ने द्रुत प्रतिकार्य टोली” कार्यक्रम पनि एक हो । नौबहिनी गाउँपालिकामा होम डेलिभरी शून्य बनाउने उद्देश्यले यो कार्यक्रम पहिलोपटक फोप्ली स्वास्थ्य चौकीबाट स्वास्थ्य चौकी प्रमुख प्रकाश घिमिरेको पहलमा सुरु गरिएको थियो।

गर्भवती महिलाको नियमित निगरानी, जोखिम पहिचान, समयमै स्वास्थ्य संस्थामा पुर्‍याउने व्यवस्था तथा आवश्यक समन्वयका लागि सञ्चालन गरिएको उक्त कार्यक्रम अहिले नौबहिनी गाउँपालिकाका सम्पूर्ण वडामा विस्तार भई सञ्चालनमा आइसकेको छ । कार्यक्रमको प्रभावसँगै घरमै हुने प्रसूतिको दर घट्दै गएको छ।

वार्षिक समीक्षा कार्यक्रम २०८३ साल साउन २८ र २९ गते नौबहिनी गाउँपालिकाको सभाहल, नौबहिनी गाउँपालिकामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय