प्यूठान । इपिक नेपालको आयोजना तथा स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा सिघ्र कुपोषणको एकीकृत ब्यबस्थापन(आईमाम) तथा पोषणसम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ।

स्वास्थ्य कार्यालय प्यूठानको सभाहल बिजुवारमा सञ्चालन भएको तालिममा जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा नौवटा स्वास्थ्य संस्थाका स्वास्थ्य फोकल पर्सन/स्वास्थ्य संस्था इन्चार्जहरूको सहभागिता रहेको थियो ।

तालिममा कडा तीब्र कुपोषण (साम) तथा मध्यम तीब्र कुपोषण (माम) भएका बालबालिकाको पहिचान, वर्गीकरण, उपचार तथा व्यवस्थापन, पोषणसम्बन्धी सेवा, सिघ्र कुपोषणको एकीकृत ब्यबस्थापन कार्यक्रम तथा बहिरङ्ग उपचारात्मक केन्द्रको स्थापना तथा सञ्चालन लगायतका विषयमा प्रशिक्षण तथा छलफल गरिएको थियो ।

जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा नयाँ OTC केन्द्र स्थापना गरी कुपोषित बालबालिकालाई समयमै उपचार तथा पोषण सेवा उपलब्ध गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । बहिरङ्ग उपचारात्मक केन्द्र स्थापनाका लागि उपचार तथा प्राविधिक पक्षसँगै व्यवस्थापकीय पक्ष पनि महत्वपूर्ण हुने भएकाले स्वास्थ्य शाखा प्रमुखहरूलाई समेत तालिममा सहभागी गराइएको जिल्ला स्वास्थ्य कार्यालय, प्यूठानका प्रमुख नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ बहिरङ्ग उपचारात्मक केन्द्र स्थापना तथा सञ्चालनका लागि आवश्यक समन्वय, जनशक्ति व्यवस्थापन, स्रोतसाधनको परिचालन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा समेत तालिमका क्रममा छलफल गरिएको थियो ।

त्यसैगरी, जिल्ला अस्पताल प्यूठानमा अन्तरङ्ग उपचार केन्द्र स्थापना गर्ने विषयमा समेत छलफल भएको छ । मेडिकल जटिलता भएका तथा अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने गम्भीर कुपोषित बालबालिकालाई आवश्यक पोषण उपचार, स्वास्थ्य परीक्षण, चिकित्सकीय निगरानी तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अन्तरङ्ग उपचार केन्द्र स्थापना गर्ने विषयमा छलफल गरिएको हो ।

तालिममा प्रशिक्षकका रूपमा फोप्ली स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश घिमिरे र पकला स्वास्थ्य चौकीका इन्चार्ज राजीव ठगुन्ना रहनुभएको थियो ।

कार्यक्रममा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा नयाँ नौवटा बहिरङ्ग उपचारात्मक केन्द्र स्थापना गर्ने तथा जिल्ला अस्पतालमा अन्तरङ्ग उपचार केन्द्र केन्द्र स्थापना गर्ने विषयमा आवश्यक समन्वय र कार्ययोजनाका बारेमा समेत छलफल गरिएको थियो ।

नयाँ बहिरङ्ग उपचारात्मक केन्द्र तथा अन्तरङ्ग उपचार केन्द्रहरूको स्थापना र सञ्चालनसँगै जिल्लामा कुपोषित बालबालिकाको समयमै पहिचान, उपचार तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय