प्यूठान । दुर्घटना, चोटपटक तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका व्यक्तिलाई स्वास्थ्यकर्मी वा एम्बुलेन्स घटनास्थलमा पुग्नुअघि नै प्राथमिक उपचार उपलब्ध गराई जीवन रक्षा गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले प्यूठानमा पहिलो पटक तीनदिने कम्युनिटी फर्स्ट हेल्थ रेस्पोन्डर (CFHR) तालिम सम्पन्न भएको छ ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र (NHTC) को आयोजनामा तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा असोज २१ देखि २३ गतेसम्म स्वर्गद्वारी नगरपालिका–३भिङ्ग्रीमा सञ्चालित तालिममा विभिन्न वडाका महिला तथा पुरुष गरी २४ जनाको सहभागिता रहेको थियो । समुदायस्तरमै आकस्मिक अवस्थामा प्राथमिक उपचार गर्न सक्ने सीपयुक्त जनशक्ति तयार गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो ।
ग्रामीण तथा दुर्गम बस्तीमा दुर्घटना वा अन्य आकस्मिक स्वास्थ्य समस्या हुँदा स्वास्थ्य संस्था र एम्बुलेन्स सेवा घटनास्थलमा पुग्न समय लाग्न सक्छ । यस्तो अवस्थामा बिरामीलाई समयमै सही प्राथमिक उपचार दिन नसक्दा स्वास्थ्य अवस्था थप जटिल बन्ने र ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले समुदायमै प्रारम्भिक प्रतिकार्य गर्न सक्ने जनशक्ति तयार गर्नु आवश्यक मानिन्छ ।
तालिममा बेहोस भएका व्यक्ति, आगोले पोलेका बिरामी, दुर्घटना तथा चोटपटकका घटना र अन्य आकस्मिक स्वास्थ्य अवस्थाको प्रारम्भिक व्यवस्थापन, घटनास्थलको सुरक्षा, प्राथमिक उपचार तथा बिरामीलाई उपयुक्त स्वास्थ्य संस्थासम्म पुर्याउने प्रक्रियाबारे सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप प्रदान गरिएको थियो ।
तालिमको उद्घाटन राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. प्रकाश शाहले गर्नुभएको थियो । कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा. अमित सिंह, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका सीप विकास शाखा प्रमुख डा. भक्त केसी तथा स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीको उपस्थिति रहेको थियो । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका मुरारी दुलालले प्रशासनिक व्यवस्थापन तथा सहजीकरणमा सहयोग गर्नुभएको थियो ।
तालिमको मुख्य प्रशिक्षक डा. उमेश कँडेल रहनुभएको थियो। अन्य प्रशिक्षकहरूमा लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत माधुरी ज्ञवाली, आम्दा अस्पताल बुटवलका श्रीकान्त सुवेदी, विजय श्रेष्ठ (राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र) तथा नौबहिनी गाउँपालिका–८ स्थित फोप्ली स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरे रहनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. प्रकाश शाहले CFHR तालिमलाई स्थानीय तहले स्वास्थ्य क्षेत्रको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकताका साथ समावेश गर्नुपर्नेमा जोड दिनुभयो । समुदायमा प्राथमिक उपचार गर्न सक्ने व्यक्तिहरू तयार गर्नु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उहाँले तालिम प्राप्त जनशक्तिको अभिलेख राख्ने, आवश्यक पर्दा सम्पर्क र परिचालन गर्न सकिने व्यवस्था मिलाउने तथा स्वास्थ्य संस्था र एम्बुलेन्स सेवासँग समन्वय गर्ने प्रणाली विकास गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. प्रकाश शाहका अनुसार, हालसम्म देशभर सात सयभन्दा बढी व्यक्तिले CFHR तालिम प्राप्त गरिसकेका छन् । प्यूठान जिल्लामा भने यो तालिम पहिलो पटक सञ्चालन गरिएको हो ।
तालिममा सहभागी प्रतिनिधि दामोदर कालाथोकीले तालिम उपयोगी र व्यवहारमा लागू गर्न सकिने खालको रहेको बताउनुभयो। सिकेका सीपलाई आवश्यक परेको अवस्थामा प्रयोग गर्नुका साथै अन्य समुदायका सदस्यलाई समेत जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।










S.K. Creative Media Group