प्युठान । यमपञ्चकको पहिलो दिन अर्थात आज हिन्दू धर्मावलम्बीहरुले काग तिहार पर्व मनाइने गरिन्छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयाे । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिदै आएको छ । काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ ।
कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आजको दिन कागलाई घरमा परिकार ख्वाएमा सुख शान्ति मिल्ने जनबिश्वास रहेको छ् । वर्षभरि कागले घरआँगनमा सुखद खबर अनि खुसीका सन्देशहरु मात्र ल्याओस भनेर कामना गरिन्छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लैजाने भएकाले यमराजले कागलाई आफ्नो दूतरुपमा लिएको जनबिश्वास रहीआएको छ ।
भाइटीका १० :५१ बजे उत्तम
कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान १०ः५१ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले बताउनुभयाे । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।