धादिङ । धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा यात्रुवाहक हाइस दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने ९ जना यात्रु घाइते भएका छन्।

पोखराबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–००६ ख ७७९२ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल कल्भर्टमा खसेको हो। दुर्घटनाका क्रममा सडकमा हिँडिरहेका स्थानीय ५० वर्षीय सिताराम अधिकारीलाई हाइसले च्यापेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि उद्धार गरी उपचारका लागि बैरेनी अस्पताल पुर्‍याइएका अधिकारीलाई चिकित्सकले राति ८ः४० बजे मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार दुर्घटनाका बेला हाइसमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको बैरेनी अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रिफर गरिएको छ।

बैरेनी अस्पतालमा उपचाररत घाइतेहरूमा लमजुङ मध्यनेपाल नगरपालिका -८ बस्ने ३० वर्षीय सजन गुरुङ, सोलुखुम्वु महाकुलुङ गाउँपालिका-१ बस्ने अन्दाजी ३१ वर्षीय चन्द्र नाछिरिङ राई र २९ वर्षीय भरत राई, स्याङ्जा अर्जुन चौपारी गाउँपालिका-४ बस्ने २७ वर्षीय नवराज चौलागाईं र २३ वर्षीय युवराज पौडेल तथा भोजपुरका २३ वर्षीय सुरेन्द्र तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, काठमाडौं ट्रमा सेन्टर रिफर गरिएका कास्की पोखरा महानगरपालिका-३१ बस्ने तिला नेपाली, स्याङ्जा अर्जुन चौपारी गाउँपालिका-४ बस्ने ३३ वर्षीया सुनिता राई र कास्की मादी गाउँपालिका-११ बस्ने ३९ वर्षीया राज कुमार ढकाल रहेका छन्।

दुर्घटनापछि हाइस चालकलाई प्रहरी चौकी बैरेनीको नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय