प्यूठान । प्यूठानको माण्डवी गाउँपालिकामा पानीको कुलोमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माण्डवी गाउँपालिका–४ बुटेनीकी करिब ५६ वर्षीया लोकी देवी सुनार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार मंगलबार दिउँसो करिब १ बजेको समयमा माण्डवी–१ अरुण खोलाबाट पिप्लीखेत जाने कुलोमा डुबेको अवस्थामा छोरी तिर्सना सुनारले फेला पारी बाहिर निकालेकी थिइन् ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी तिरामबाट प्र.स.नि. फत्तेसिंह थारुको कमाण्डमा २ जना र जिल्ला प्रहरी कार्यालय प्युठानबाट प्रहरी निरीक्षक कौशल पराजुलीको कमाण्डमा क्राइम सिन अफिसर (SOCO) सहित ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतक सुनारका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा रहेको र घरमा छोरा–बुहारी, छोरी तथा नातिनातिना रहेको बुझिएको छ । मृतकले प्रायः मदिरा सेवन गर्ने गरेको समेत खुलेको छ । मृतकको माइती पक्षलाई घटनाबारे जानकारी गराइसकिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


S.K. Creative Media Group