प्युठान । भारतको नयाँ गुडगाउँमा भएको दुर्घटनामा परी अकालमै ज्यान गुमाएका झिमरुक गाउँपालिका–४, कुन्टेपानीका बाबुराम रोकाको परिवारलाई झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले खाद्यान्न सहयोग गर्नुभएको छ।

मंगलबार उपाध्यक्ष पोख्रेल पीडित परिवारको घरमै पुगेर दिवंगत रोकाको १३औँ दिनको संस्कारका लागि आवश्यक खाद्यान्न सहयोग गर्नुभएको हो।

उहाँले परिवारलाई १० बोरा चामल, एक बोरा आलु, पाँच लिटर तेल र पाँच केजी नुन हस्तान्तरण गर्नुभएको छ। दुःखको घडीमा परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत पहलमा खाद्यान्न सहयोग गरिएको हो।

दुर्घटनामा बाबुरामको निधन भएपछि परिवारको अवस्था थप कठिन बनेको छ। विशेषगरी विचल्लीमा परेका उहाँका अढाई वर्षीय छोराको भविष्य सुनिश्चित गर्न उपाध्यक्ष पोख्रेलले आर्थिक सहयोग संकलन अभियानसमेत सञ्चालन गरिरहनुभएको छ।

पोख्रेलका अनुसार उक्त अभियानमा देश तथा विदेशमा रहेका नेपालीहरूबाट सहयोग प्राप्त हुने क्रम जारी छ। संकलित सहयोग रकम बालकको भविष्यका लागि उपयोग गर्ने उद्देश्य राखिएको छ।

सामाजिक सेवामा सक्रिय पोख्रेलले यसअघि पनि झिमरुक गाउँपालिकासहित जिल्लाका विभिन्न स्थानका दुःखी, विपन्न तथा समस्यामा परेका परिवारलाई सहयोग गर्दै आउनुभएको छ।

उहाँले कतिपय अवस्थामा व्यक्तिगत रूपमा र कतिपय अवस्थामा सहयोग अभियान सञ्चालन गरी खाद्यान्न तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय