काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपविरुद्धको रिटमा उक्त सजाय सुनाएको हो ।
त्यस्तै आठ वर्ष कैद सजाय सहित तीन लाख जरिवाना र पिडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनु पर्ने आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका सन्दीप लामिछाने उच्च अदालतमा पुनरावेदन दिने तयारीमा रहेको बताइएको छ ।
क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आउनुभएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जान लागिएको बताउनुभएको हो ।
२०७९ सालको भदौ ६ गते राति लामिछानेले जबरजस्ती करणी गरेको भन्दै एक नाबालिकाले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । २०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएकोमा आज फैसला भएको हो ।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले उनलाई छाडेको थियो । उच्चको आदेशलाई सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुनाबाहिरै बसेर मुद्दा लडिरहेका थिए ।