प्यूठान । प्यूठानको मरन्ठानामा नमस्ते यातायात सेवा प्रालिको बुकिङ काउन्टर खुले पनि स्थानीय यात्रुले अझै त्यहाँबाट बसको टिकटको कोटा पाउन सकेका छैनन्। प्रालिको सिट कोटा उपलब्ध नहुँदा काउन्टर सञ्चालनमा आए पनि यात्रुले प्रत्यक्ष सुविधा पाउन नसकेका हुन्।

केही दिनअघि काउन्टर सञ्चालनमा ल्याएर कर्मचारीसमेत व्यवस्थापन गरिएको छ। गाउँमै टिकट काट्न पाइने र यात्रा सहज हुने अपेक्षा गरेका स्थानीयवासी भने टिकट लिन अझै बाग्दुला पुग्नुपर्ने बाध्यतामा रहेको स्थानिय दिपक बुढाथोकीले गुनासो गर्नुभयो ।

ठुलाबेसी–मच्छी–मरन्ठाना–बाग्दुला–बिजुवार हुँदै काठमाडौंसम्म बस सेवा सञ्चालनमा आएको लामो समय भइसक्दा पनि मरन्ठानाबाटै टिकट काट्न पाउने व्यवस्था नहुँदा यात्रुले अतिरिक्त खर्च र झन्झट बेहोर्नुपरेको छ।

मरन्ठानाबाट काठमाडौं जाने यात्रुले टिकट लिन बाग्दुला बसपार्क पुग्नुपर्ने अवस्था छ। त्यसका लागि अटो चढेर थप खर्च गर्नुपर्ने र समयसमेत छुट्याउनुपर्ने स्थानीय यात्रुको गुनासो छ। विशेषगरी परिवारसहित यात्रा गर्ने, धेरै सामान बोकेका तथा समयमै गन्तव्यमा पुग्नुपर्ने यात्रु बढी प्रभावित हुने गरेको स्थानीयले बताउँछन् ।

गाउँमै काउन्टर खुलेपछि टिकट लिन सहज हुने अपेक्षा गरिए पनि कर्मचारीको व्यवस्था मात्र हुँदा त्यसको प्रत्यक्ष लाभ यात्रुले लिन सकेका छैनन्। स्थानीयस्तरमै टिकट उपलब्ध भए यात्रुको समय र खर्च बच्नुका साथै यात्रा व्यवस्थापनसमेत सहज हुने देखिन्छ।

मरन्ठानाबाटै बसको सिट कोटा उपलब्ध गराउन पहल भइरहेको नमस्ते प्यूठान प्रालिका कर्मचारी गोपाल केसीले बताउनुभयो। स्थानीयको समस्या समितिसम्म पुर्‍याइएको उल्लेख गर्दै उहाँले यस विषयमा छिट्टै निर्णय हुने जानकारी दिनुभयो।

नमस्ते यातायात सेवा प्रालिका अध्यक्ष लिलाप जङ्ग केसीले मरन्ठाना काउन्टरबाटै टिकट बिक्री र सिट कोटा उपलब्ध गराउने विषयमा आवश्यक छलफल भइरहेको बताउनुभयो। उहाँले स्थानीय यात्रुको समस्यालाई समाधान गर्न कम्पनी सकारात्मक रहेको र छिट्टै निर्णय गरिने जानकारी दिनुभयो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय