काठमाडौं । आज देशभर ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरि भब्यताका साथ मनाईंदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रिय एकीकरण अभियानमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै आजको दिन देशभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।
नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा पौष २७ लाई विशेष महत्त्वका साथ मनाउँदै आएको छ। आजकै दिन काठमाडौंमा ३०२ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउँदै छ। सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरवार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ ।
१७७९ साल पुस २७ गते गोरखामा जन्मिनुभएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । शाहले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो । सोहि योगदानको सम्झना गर्दै पृथ्वी जयन्तीका रुपमा आजको दिन विशेष कार्यक्रमको आयोजना गरि मनाउने गरिएको छ ।
राष्ट्रिय एकीकरण अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक स्वतन्त्र राज्य हुन पुगेको छ । पृथ्वी नारायण शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए। शाहले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक रहेका छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उहाँले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए । जातीय हिसाबले नेपाल चार जात छत्तीस वर्णको फुलबारी हो उहाँले भन्नुभएको छ ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरण गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०२औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । उहाँको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको हो ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगाएतले शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताउनुभएको छ। राष्ट्रिय एकता दिवसले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।