
कपिलवस्तु । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुनको अभावमा स्थानीय तहलाई अफ्टयारो पर्न नदिइने बताउनु भएको छ । उहाँले लुम्बिनी प्रदेश सभा कानुन निर्माणमा स्थानीय तहलाई सहजीकरण गर्न सदैव तयार रहेको बताउनुहुदै उहाँले कानुन बनाउनु कुरा ठुलो कुरा नभएको र कार्यान्वयनमा जोड दिन जरुरी रहेको बताउनुभयो ।
कानुन निर्माणमा स्थानीय तह, प्रदेश र संघको संयन्त्र बनाउन जरुरी रहेको उहाँले भनाइ छ । कपिलवस्तुको शिवपुरमा प्रदेश सभा सचिवालयले आज लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा संचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सभामुख घर्ती मगरले संघीयतालाई सफल बनाउन स्थानीय तहले प्रभावकारी काम गर्नु पर्ने बताउनुभयो ।
सभामुख घर्ती मगरले भन्नू भयो,”संघीयता माथी जबर्जस्त प्रश्न उठाएको छ । त्यसको जवाफ दिन पनि स्थानीय तह कानुन निर्माण र कार्यान्वयनमा अब्बल हुनु पर्छ । ” सभामुख घर्ती मगरले संविधानले स्थानीय तहलाई कानुन निर्माण , प्रमाणिकरण र कार्यान्वयनको अधिकार दिएकाले कानुन निर्माणमा समेत स्थानीय तहका पदाधिकारी सदस्यहरुको अब्बल हुनुपर्ने बताउनु भयो ।
प्रदेश सभाको काम कानुन बनाउने, बजेट पारित गर्ने, सरकार बनाउने र सरकारको काम कार्बाहीको निगरानी गर्ने समेत रहेकोले सरकारलाई जवाफदेही बनाइने उहाँले बताउनुभयो । उहाँले स्थानीय तहमा कर्मचारी ब्यवस्थापनको लागू हिउँदे अधिबेशनमा स्थानीय सेवा बिधेयक सभामा पेश गर्ने गरि काम अघि बढाइएको बताउनु भयो ।
त्यसै गरि उप सभामुख मेनुका खाड केसीले प्रदेशबासीलाई दिइने सेवालाई स्थानीय तह अधिकार सम्पन्न निकाय भएको र पालिकाकाले निर्माण गर्ने कानुनले प्रत्यक्ष प्रभाव पार्ने भएकाले कानुन निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
सचिवालयका अधिकृत राधा रोकाको संचालनमा भएको कार्यक्रममा प्रदेश सभा सचिब दुर्लभ कुमार पुन कानुन उप सचिब ईश्वरी प्रसाद आचार्यले सभा संचालन सम्बन्धि संबैधानिक ब्यवस्था, नियमावली , कार्यबिधीको बारेमा सहजीकरण गर्नु भएको थियो।