प्युठान । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने तयारी भएको छ । प्रतिनिधि सभा निर्वाचनमा प्यूठानमा पराजित हुनुभएकी पौडेललाई गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने तयारी भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रेस वक्तव्य जारी गरेर पौडेललाई राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभाको महिला सदस्यका लागि प्रस्ताव गरिएको जनाएको छ । “त्यो पद मन्त्री परिषदले निर्णय गरेर राष्ट्रपतिबाट मनोनित हुने पद भएकाले सरकार र राष्ट्रपतिद्धारा पनि उहाँलाई राष्ट्रिय सभामा नियुक्त गरिने छ भन्ने हामीले आशा गरेका छौं । ” वक्तव्यमा भनिएको छ ।
प्रतिनिधिसभा निर्वाचन २०७९ मा प्यूठानबाट नेकपा (एमाले)का उम्मेदवार सुर्य थापा विजयी हुनुभएको थियो । थापाले ४१ हजार ११८ मत प्राप्त गर्नुभएको थियो भने पौडेलले ३५ हजार ८१४ मत प्राप्त गर्नुभएको थियो ।