काठमाडौं । नेपालले रुसलाई तीनपटक कूटनीतिक नोट पठाउँदा पनि नेपालीको शव पठाउन इन्कार गरेको छ । रुसी सेनामा भर्ती भई १० जना नेपालीको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयमार्फत हालसम्म तीनपटक कूटनीतिक नोट पठाइसकेको छ ।
विज्ञप्ति जारी गरेर रुसमा नजान र आफ्नो नागरिकलाई रुसी सेनामा भर्ना नगर्न आग्रह गरेको थियो । तर रुसले नेपालीको आग्रहलाई इन्कार गर्दै सेनामा भर्ती गर्ने क्रमलाई निरन्तरता दियो ।
४ पुसमा परराष्ट्रले विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन, घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन पुनः अनुरोध गरिएको थियो ।
गत ४ पुसमा जारी विज्ञप्तिमा नै परराष्ट्रले पहिलोपटक युक्रेनले चार नेपालीलाई युद्धबन्दी बनाएको जनाएको थियो । युक्रेनले युद्धबन्दी बनाएका चार नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन छन् ।
सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । युद्ध चलिरहेको छ, रोकिने लक्षण छैन । रुसले युक्रेनमाथि आक्रमण गर्नेबित्तिकै नेपालले विज्ञप्ति जारी गर्दै युक्रेनको पक्ष लिँदै रुसको आलोचना गरेको थियो । तर, सोही देशमा सेना भएर युद्ध लड्न नेपाली लामबद्ध भइरहेका छन् । संयुक्त राष्ट्रसंघमा विभिन्न निकायमा भएका प्रस्तावमा पनि नेपालले युक्रेनलाई साथ दिएको थियो । राष्ट्रसंघमा नेपालले खुलेर युक्रेनको पक्ष लिएका कारण पनि रुस नेपालसँग असन्तुष्ट छ ।
कति छन् वैधानिक रूपमा रुस पुगेका नेपाली ?
रोजगार विभागको तथ्यांक हेर्दा भने १ वैशाख २०८० देखि पुससम्म श्रम स्वीकृति लिएर ५ सय ७३ नेपाली रुस गएका छन् । भिजिट भिसा र भारत हुँदै रुस जानेको संख्या अझ बढी हुन सक्ने अनुमान छ । वैदेशिक रोजगार विभागको तथ्यांकनुसार वैशाखमा १७, जेठमा १ सय ७९, असारमा ३३, साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७, कात्तिकमा ४३ र मंसिरमा ४३ नेपाली श्रम स्वीकृति लिई रुस गएका छन् । राजधानी दैनिकबाट