सुजल श्रेष्ठ
प्यूठान । गहनाको रुपमा प्रयोग हुने मोति उत्पादन गर्ने सिपी प्यूठानमा पाइन्छ । पुराना र सक्रिय कृषक दिन बहादुर जिसीले प्यूठान नगरपालिकाको मरन्ठाना (चिसापानी)मा सिपी पालन गर्दै आउनुभएको छ ।

बहुमुल्य मोति उत्पादन गर्ने सिपी जिसीको माछापोखरीमा छन । वर्षौदेखी माछापालन व्यवसाय गर्दै आउनुभएका जिसीले माछापोखरीमा आफै फेला परेका सिपीको संरक्षण गर्दै आउनुभएको हो ।

सिपि पानीमा पाईने एक प्रकारको जीव हो । प्राय: समुन्द्रमा पाईने सिपी उहाँको माछापोखरीमा प्रशस्त छन् । ०७० सालमा पहिलो पटक पोखरीमा आफै फेला परेका सिपी पछिल्लो समय बढ्दै गएका छन् ।

“०७० सालमा माछापोखरीमा आफै फाट्टफुट्ट देखिएको थियो,” जिसीले भन्नुभयो, “०७५ सालमा व्यापक भएपछि नमुनाको रुपमा गोदावरी, बालाजु र पोखरा पठाएको थिए ।” उहाँका अनुसार कृषि अनुसन्धानकर्ता एकवाल हुसेनले एक सय वटा नमुना अध्ययनका लागि पोखरा लैजानुभएको थियो ।

प्राकृतिक रुपमै पोखरीमा सिपि भेटिएपछि जिसीले त्यसको अध्ययन अनुसन्धान गर्दै सिपिको संरक्षण गर्दै आउनुभएको छ । विभिन्न पत्रपत्रिका, युट्युवहरुमा हेरेर सिपिको बारेमा बुझ्ने गरेको जिसी बताउनुहुन्छ । उहाँको पोखरीमा रहेको सिपी केहि सिमित व्यक्तिले खरिद गरेर लैजाने गरेको उहाँ बताउनुहुन्छ । “करीव १३ रोपनी क्षेत्रफलमा माछापालन गर्दै आएको छु,” उहाँले भन्नुभयो,“यिनै पोखरीमा माछासँगै सिपि पनि प्रशस्त छन् ।”

आफूले परम्परागत रुपमा सिपीलाई पाल्दै आएपनि अझैपनि व्यावसायिक रुपमा अगाडी बढाउन नसकिएको उहाँको भनाई छ । सिपीको बारेमा नेपालमै अनुसन्धानको विषय भएकाले समेत यसको व्यावसायिकता तर्फ उन्मुख हुन नसकेको उहाँको बुझाई छ ।

खोला नाला र पोखरीमा पाईने सिपीले विशेषत: मोति उत्पादन गर्दछ । विकसित मुलुकमा मोती खेती गर्ने चलन भएपनि नेपालमा अझै हुन नसकेका उहाँले बताउनुभयो । सिपीको व्यावसायिक पालनका लागि सरकारले यसको अध्ययन अनुसन्धानलाई तिव्रता दिँदै किसानलाई प्रोत्साहित गर्नपर्ने जिसीको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय