
काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा क्रिकेटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबिचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार आज दिउँसो पौने २ बजे सुरु हुनेछ ।
पछिल्लो खेलमा टेष्ट राष्ट्र अफगानिस्तानलाई पराजित गरेको नेपालको मनोबल उच्च छ । उता बंगलादेश पनि सुपर सिक्सको पहिलो खेलमा जित हासिल गर्दै सेमिफाइलनमा पुग्ने सम्भावना कायमै राख्न चाहन्छ । नेपालको भने सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।
यू-१९ विश्वकपमा नेपालले तेस्रो पटक बंगलादेशको सामना गर्दैछ।यसअघि नेपाल र बंगलादेशको भेट दुई पटक भएको छ । जसमा एकमा नेपाल र एकमा बंगलादेश विजयी भएका छन् । नेपालले २००२ मा भएको यु-१९ विश्वकप प्लेट च्याम्पियनसिपमा सेमिफाइलनमा बंगलादेशलाई २३ रनले पराजित गर्दै फाइलनको यात्रा तय गरेको थियो । उक्त च्याम्पियनसिपमा नेपाल फाइनलमा जिम्बाब्बेसँग १३७ रनले पराजित भएको थियो ।
नेपाल र बंगलादेशको दोस्रो भेट २०१६ मा भएको यु-१९ विश्वकपमा भएको थियो । उक्त खेलमा भने बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरिएको थियो । त्यसयता भने नेपाल र बंगलादेशको भेट भएको छैन । फाइल फोटो ।