वासुदेव गिरी
प्यूठान । प्यूठान अस्पतालमा स्थापना हुने डायलाइसिस परियोजना बारे सरोकारवालाहरु बीच छलफल गरिएको छ । शुक्रबार बिजुवार स्थित निर्माण व्यवसायी संघको सभाहलमा प्युठान अस्पताल, लायन्स क्लव अफ प्युठान, लायन्स क्लब अफ प्युठान भित्रीकोटको आयोजनामा अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सूर्य थापाले आफू यो परियोजना सँग अलग नभएको र सँगसँगै भएको बताउनुभयो । “म यो परियोजनामा एक्यवद्ध छु ।” उहाँले भन्नुभयो, “यो परियोजनालाई सफल बनाउन सबै लागौं ।” डायलाइसिस महँगो उपचार भएकोले जिल्लामा ब्यवस्थापनमा सबै पक्षको सहयोग आवश्यक रहेको उहाँको भनाई छ। “लायन्स क्लब आफै डोनर होइन, समन्वय र सहयोगी निकाय हो,” उहाँले भन्नुभयो, “परियोजनाको लागि अप्रेसन प्लान्ट, भौतिक पुर्वाधार र जनशक्ति ब्यवस्थापनमा सबै तहका जनप्रतिनिधि सरकार सकारात्मक भएर लागौं सफल हुन्छौं ।”

लायन्स क्लव अफ डिष्टिक ३२५ N का गभर्नर मुकुट ढकालले कुनै काम गर्दा समस्या आउछ तर त्यो सँगसँगै अवसर पनि लिएर आउने भएकोले त्यो अवसरको समयमै पहिचान गरेर अगाडि पढ्नुपर्ने बेला आएको बताउनुभयो । उहाँ ल्ले सबैको सहकार्यबाट समस्या समाधान गर्न पहल गरे परियोजना सफल हुने बताउनुभयो । “प्यूठानलाई डायलाइसिस मेसिन प्राप्त गर्ने पोर्जेक्ट स्वीकृत भयो,” उहाँले भन्नुभयो, “थप कार्यभार पूरा गर्नुस, कुनै सारो अफ्ट्यारो भए लायन्स अरु सहयोग गर्न तयार छ ।” स्थानीय तहले देखाएको सहयोग निकै सकारात्मक र जनपक्षीय भएको समेत उहाँले बताउनुभयो ।

जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीले यो परियोजना आउने कुरो प्यूठानी जनताको लागि अवसर भएको भन्दै पाएको अवसर सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै झिमरुक गाउँपालुका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले सबैको प्रयासबाट यो परियोजना सफल बनाउन पर्ने बताउनुभयो । परियोजनाको खर्चको सिमा सहितको गुरुयोजना बनाएर जादा स्पष्ट खाका आउने उहाँको भनाई छ । त्यसको लागि अस्पताल बिकास समितिले पहल लिएर बृहत कार्यक्रम गरेर सम्भावित अफ्ट्यारो लाई निर्क्योलमा पुर्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले मेसिन जडान पछि लाग्ने समग्र खर्च कसरी हुने त्यो बिषयमा सुनिश्चितताको लागि एउटा लागत तयार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो अनुसार स्थानीय तह लगाएतले के भुमिका र दायित्व रहने भन्ने प्रष्ट हुनेछ ।” त्यसको लागि संघ र प्रदेश सरकार सँग सबैको साझा धारणा सहित छलफल गरेर जनशक्ति ब्यवस्थापन गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

मान्डबी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले लायन्स क्लब अफ प्यूठानको समन्वयमा १ करोड बजेट सुनिश्चितता हुनु सकारात्मक भएकोले अब यो परियोजना सफल बनाउने दायित्व जिल्लाबासीको भएको बताउनुभयो ।

लायन्स क्लब अफ प्यूठानका अर्जुन कुमार कक्षपतिले
परियोजना ल्याउन धेरै पटक छलफल गर्दै आएको भन्दै लायन्सका सदस्यबाट सोधभर्ना हुने गरि ६ लाख नपुग रकम ब्यवस्था गरेको बताउनुभयो । “धेरै स्थानीय तहले सहयोग गर्नुभएको छ । केही बाकी हुनुहुन्छ केही समयमै दिने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।”

अस्पताल बिकास समितिका अध्यक्ष बिजय बिराज बिष्टको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुर्य थापा प्रमुख अथिती रहनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसी, लायन्स क्लव अफ डिष्टिक ३२५ N का गभर्नर मुकुट ढकाल, प्यूठान अस्पतालको निमित्त मेसु प्रमिला खनाल, स्थानीय तहका प्रमुखहरु, प्रशासकीय अधिकृत, लायन्सकर्मी, बुद्धिजीवी, समाजसेवी पत्रकार लगाएतको उपस्थित रहेको थियो ।

प्युठान जिल्लामा अहिलेसम्म करिब २ सय डायलाइसिसका बिरामी रहेको अस्पतालले जानकारी दिएको छ । बिरामीहरु जिल्लामा डायलाइसिस मेसिन नहुदा दाङ, बुटवल र नेपालगन्जका विभिन्न अस्पतालमा महँगो पैसा तिरेर उपचार गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय