काठमाडौं । टिकटक (Tiktok) बन्द गर्ने मन्त्रिपरिषदको निर्णय खेदजनक रहेको प्रतिनिधि सभा सदस्य एवं एमाले नेता सूर्य थापाले बताउनुभएको छ । सोमबार सरकारले सामाजिक सद्भाव खलबलाउने कार्य भएको भन्दै सामाजिक संजाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको थियो ।
त्यसको बिरोधमा विभिन्न पार्टीका नेताहरु धारणा सार्वजनिक गर्नुभएको हो । एमाले नेता थापाले प्रेस विज्ञप्ति जारी गर्दै यसबाट ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड’ भन्ने नेपाली भनाई व्यवहारत: चरितार्थ गर्नखोजेको प्रष्ट भएको बताउनुभयो ।
संसारभरि टिकटकले हासिल गरेको लोकप्रियताले नेपाली समाजलाई पनि अत्यन्त छोटो समयमै प्रभावित गरेको छ विज्ञप्तिमा भनिएको छ,”नेपाली जनजीवनका बहुआयामिक क्षेत्रमा गहिरो गरी जोडिएर यो वैकल्पिक मिडियाका रूपमा स्थापित छ”। टिकटक लगायतका वैकल्पिक संचारका साधनहरूलाई व्यवस्थित गर्नु अत्यावश्यक रहेको थापा द्वरा जारी विज्ञप्तिमा उल्लेख छ । तर यो कार्य मन्त्रिपरिषदले स्वेच्छाचारी रूपमा बन्द गर्ने निर्णय गरेर होइन, संसदबाट कानुन बनाएर मात्रै गर्नुपर्ने सांसद थापाले उल्लेख गर्नु भएको छ ।
विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका समयमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा संसदमा दर्ता गरिएका चारवटा विधेयकहरू पारित गर्न भाँजो हालेर कानुन बन्न नदिने गैरजिम्मेवार तत्वहरूले संसदको बर्षे अधिवेशन अन्त्य भएको ११ दिन नबित्दै गरेको यस अलोकतान्त्रिक र परिवर्तनको स्वभाविक गति रोकी तानाशाही निर्णयको सहारामा अन्धकार युगतर्फ धकेल्ने प्रयत्नको जति निन्दा गरेपनि कम हुन्छ विज्ञप्तिमा भनेका छन्,”टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरूलाई कानुनबमोजिम मात्र नियमन गर्न, नेपालमा दर्ता भएर मात्रै संचालन गर्ने व्यवस्था मिलाउन र करको दायरामा ल्याउन जाेडदार माग गर्दछु।”थापाले विज्ञप्तिमा भन्नुभएको छ, ” म प्रचण्डपथको प्रेत बोकेर बन्द समाजतर्फ उन्मुख हुँदै धुन्धुकारी बाटोमा अघि बढेको सरकारलाई होसमा फर्केर जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन ध्यानाकर्षण गराउन चाहन्छु।”