प्यूठान । २६१ औं नेपाली सेना दिवस बिबिध कार्यक्रम गरि मनाईएको छ । सदरमुकाम खलंगा स्थित टुडिखेलमा बर्द बहादुर गण प्यूठानले बिबिध कार्यक्रम आयोजना गरि दिवस मनाएको हो ।
सेनाले तेक्वान्दो प्रदर्शन, कुर्सी दौड, चम्चा दौड, घैटो फोर प्रतियोगिता सहित बिबिध साँस्कृतिक कार्यक्रम गरेको हो । सो अवसर नेपाली सेनाका शहिद परिवारलाई सम्मान समेत गरिएको थियो । प्रतियोगिताका बिजेतालाई पुरस्कार प्रदान गरिएको छ ।
जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, आम नागरिकको सहभागिता थियो ।
त्यसैगरी बिहान बर्द बहादुर गणका गणपति प्रमुख सेनानी रमेश थापाले मल्लरानीमा रहेको शिव मन्दिर जिणोद्वार गरि गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्कालाई हस्तान्तरण गर्नुभएको थियो ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने बेला बि.सं. १८१९ मा स्थापना भएको ५ वटा कम्पनी मध्ये बर्द बहादुर बज्रबाणी कम्पनीको नामबाट स्थापना भएको गणले जनाएको छ । गणले २०२० सालमा निशान प्राप्त गरेको थियो ।