काठमाडौं । सरकारले नेपालको अर्थतन्त्र सुधारका लागि ‘बोल्ड’ निर्णय लिने तयारी गरेको बताइएको छ। अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो बोलाएको बैठकमा देशको अर्थतन्त्र सुधारका लागि सरकारले सबै बिषयमा छलफल गरि ‘बोल्ड’ निर्णय लिने संकेत दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका जानकारी दिनुभएको छ ।
देशको अहिलेको अर्थतन्त्रको अवस्था र सरकारले चाल्नुपर्ने कदमका विषयमा अन्तरनिकाय छलफल गर्न सोमबार दिउँसो साढे ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तयारी भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सोमबारको छलफलमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिको सहभागिता रहने छ ।
सरकारले विगतमा गरेको प्रतिबद्धता, त्यसको कार्यान्वयन अवस्था र परिणाम, निजी क्षेत्रको माग, माग पूरा गर्ने सवालमा देखा पर्ने समस्या, अन्तर निकायमा देखिएको समन्वय अभाव लगायत विषयमा बैठकमा छलफल गरिने बताइएको छ । योसँगै निजी क्षेत्र, राजनीतिक दलहरू, विज्ञ र सरोकारवालाहरूसँग समेत प्रधानमन्त्रीले छलफल गर्ने तयारी भएको बुझिएको छ ।