पोखरा । नेपाली काँग्रेसले गण्डकीको संसद बैठक बहिष्कार गर्ने भएको छ । संसदीय दलको बैठकले संसद बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बहिष्कार गर्ने निर्णय गरेको हो ।
“प्रदेश प्रमुख र मुख्यमन्त्रीले गैर संवैधानिक काम गर्नुभएको छ । असंवैधानिक हिसावले बोलाइएको बैठकमा हामी सहभागी नहुने निर्णय भएको छ,” दलका नेता सुरेन्द्रराज पाण्डेले भन्नुभयो, “सभामुख ज्युले पनि बैठक सञ्चालन गर्न भएन ।”
काँग्रेसले बैठकको निर्णय सहित ज्ञापनपत्र सभामुख कृष्ण धिताललाई बुझाएको छ । “सभामुखको पदीय मर्यादालाई दलीयकरण गरी असंवैधानिक एवं गैरकानुनी रुपमा सरकार गठन भएको थियो । सर्वोच्च अदालतबाट प्रदेश सरकारलाई नियमित कार्य संचालन बाहेक दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न आदेश भएको थियो,’” पत्रमा भनिएको छ, “यस्तो परिस्थितिमा प्रदेश सभाको अधिवेशन बोलाइएकोले उक्त अधिवेशन बोलाउने कार्य पनि गैरकानूनी र सर्वोच्चको आदेश विपरित कार्य हो ।”

आदेश र मुद्दाको पेशी समेतलाई वेवास्ता गर्दै अधिवेशन आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु दुवै गैर जिम्मेवार काम भएको काँग्रेसको तर्क छ । काँग्रेसले मुद्धाको किनारा नलाग्दासम्म कुनैपनि बैठकमा सहभागी नहुने निर्णय सभामुखलाई सुनाएको छ ।
“असंवैधानिक क्रियाकलापहरुप्रति गम्भीर असहमति जनाउँदै प्रदेश सभा बैठक र अन्य कुनैपनि बैठकमा हामी नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरु सहभागी नहुने निर्णय गरेको जानकारी गराउँदछौं,” विज्ञप्तीमा उल्लेख छ । यस्तै यो बैठक सञ्चालन नगर्न सभामुखलाई कांग्रेसले आग्रह पनि गरेको छ ।
“बिचाराधीन मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभाको बैठक संचालन गर्नु संवैधानिक दृष्टिले त्रुटिपूर्ण र संसदीय मर्यादा एवं परम्परा विपरितसमेत हुने भएकाले प्रदेश सभा बैठक सञ्चालन नगर्न÷नगराउन अनुरोध गर्दछौँ,” काँग्रेसले भनेको छ ।



S.K. Creative Media Group