-अनिल खत्री
गुल्मी। गुल्मीको रूरूक्षेत्र गाउँपालिकाका नागरिकले मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया गर्न पाउने भएका छन् । त्यसका लागि रूरूक्षेत्र गाउँपालिका र नेपाल नेत्र ज्योति संघ गुल्मी, जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र बिच सम्झौता भएको छ ।
सम्झौतासँगै रूरूक्षेत्रका नागरिकहरूलाई आँखाको मोतियाविन्दुको शल्यक्रिया गर्दा कुनै शुल्क नलाग्ने रूरूक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । मोतियाविन्दुको शल्यक्रियाको सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्नेछ भएको हो ।
गाउँपालिकाका नागरिकहरुको स्वास्थ्यमा ख्याल गर्दै शरीरको अत्यन्त संवेदनशील अंग आँखाको मोतियाविन्दुको शल्यक्रिया नि: शुल्क गरेर नागरिकसँगै गाउँपालिका भएको अनुभूति दिलाउनका निम्ति यसरी सेवा प्रदान गर्न लागिएको पाण्डेले जानकारी दिनुभयो । यो सेवा लिनका लागि परिचय खुल्ने कागजपत्र र पालिकाको सिफारिसका आधारमा आँखा उपचार केन्द्र गुल्मीबाट सेवा लिन सक्नेछन् ।
सम्झौता कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, नेपाल नेत्र ज्योति संघ गुल्मीका अध्यक्ष अखिलेश्वर पाण्डे, शेर बहादुर थापा, पदमप्रसाद पाण्डे, विरबहादुर कार्कीको उपस्थिती रहेको थियो । जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रले प्रत्येक महिनाको ११ र १२ गते मोतियाविन्दुको शल्यक्रिया गर्ने गर्दछ ।